अन्तरजातीय विवाह गर्ने जोडी गाउँ निकाला

१६ वैशाख, नुवाकोट । कथित तल्लो जातिसँग अन्तरजातीय विवाह गरेको आरोपमा नुवाकोटमा एक किशोर जोडीलाई आफन्त र गाउँलेहरु मिलेर गाउँबाट लखेटेका छन् । जिल्ला सदरमुकाम विदुरसँगै जोडिएको खानीगाउँ ५ लब्धुकी १७ बर्षकी संगिता राईले रालुकादेवी ७ का १६ बर्षका राजु विकसँग विवाह गरेका कारण सयौंको संख्यामा रहेका स्थानीइ गाउँलेहरुले अमानवीयतापूर्वक गाउँबाट निकाला गरेका हुन् ।

खानीगाउँस्थित लब्धुका स्थानीय तुलबहादुर विकको घरमा विगत तीन वर्षअघिदेखि काम गरी बस्दै आएका राजुसँग यही चैत ५ गते राईले विवाह गरेकी थिइन् । नजिकैको नारायणदेवी उच्च माविमा कक्षा ८ मा पढ्दै गरेकी राईको आफ्नो घरनजिकै कस्ने राजुसँगको निरन्तरको भेटघाटबाट प्रेम सम्बन्धका कारण हिमचिम बढ्दै गएपछि लगनगाँठो कस्सिएको खबर नेपाल समाचारपत्रले छापेको छ ।

राई अति निम्न परिवारकी हुन् । उनी बाबुको मृत्यु भइसकेकाले घरमा आमासँग बस्दै आएकी थिइन । विवाहपश्चात गाउँबाट भागेर हिँडेका उनीहरु तीनदिन अघि फर्केर सोही घरमा आइ लुकेर बसेको थाहा पाएपछि राई समुदायका गाउँलेहरु, आफन्त र परिवारले शनिबार अकास्मात घरमा घेरा हालेका थिए । उनीहरुले तल्लो जातिकासँग बिहे गरेकोलाई गाँउमा बस्न दिनुहुदैन भन्दै गाउँ निकाला गरेका थिए ।