वार्तामा नबस्ने ३३ दलको निश्कर्ष

२३ चैत, काठमाडौं । चार राजनीतिक दलका नेताले राखेको वार्ताको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले अस्वीकार गर्नुभएको छ । सरकारले वार्ताका लागि औपचारिक चिठी लेखेपछि शुक्रबार बसेको ३३ दलको कार्यदलले समेत सरकार र चार दलसँग वार्तामा नजाने निश्कर्ष निकालेको छ ।

 ‘एमाले अध्यक्ष झलनाथ खनालले वैद्यजीलाई र सुशील कोइरालाले उपेन्द्र यादवलाई वार्ताका लागि सम्पर्क गर्ने कार्यक्रम थियो ।’ प्रचण्डका सहयोगी शिव खकुरेलले अनलाइनखबरसँग भन्नुभयो-’वैद्यजीले कांग्रेस, एमाले र एमाओवादीसँग एक्लाएक्लै छलफल गर्न सकिने तर, चारदलसँग वार्ता नगर्ने जवाफ दिनुभयो ।’

 खकुरेलका अनुसार कांग्रेस सभापति कोइरालाले पनि यादवसँग सम्पर्क गर्नुभएको र यादवले वार्तामा बस्ने सकारात्मक जवाफ दिनुभएको छ । चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बिहीबारको बैठकले असन्तुष्ट वैद्य र उपेन्द्र यादवको पार्टीसँग वार्ता गर्ने निर्णय गरेको थियो ।

 त्यस्तै शुक्रबार बिहान मन्त्रिपरिषद अध्यक्ष रेग्मी र चार दलका नेतावीच बालुवाटारमा भएको छलफलमा पनि असन्तुष्ट दलहरुलाई वार्तामा बोलाउने निर्णय भएको थियो । त्यसलगत्तै सरकारले वार्ताका लागि औपचारिक पत्रसमेत पठाएको थियो ।

 गंगबुको निश्कर्ष सरकार र चार दलले वार्ताका लागि आग्रह गरेपछि माओवादी अध्यक्ष मोहन वैद्यको निवास गोंगबुमा शुक्रबार विहान बसेको उक्त दलका नेताहरुले छलफल गरेको थिए । उक्त छलफलमा १ गते राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज गर्ने प्रतिवद्धता नआएसम्म वार्ता गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको छ ।

 ‘चैत १ गतेको २५ बुँदे खारेज नगरेसम्म वार्ता गर्नुको कुनै औचित्य छैन’ माओवादी सचिव देव गुरुङले अनलाइनखबरसँग भन्नुभयो । राष्ट्रपति मात्र वार्ता गर्ने हो ? भन्ने प्रश्नमा गुरुङले २५ बुँदे खारेजीबारे कुराकानी हुन सक्ने तर, अन्य विषयमा छलफल गर्नुको औचित्य नहुने बताउनुभयो ।त्यसैगरी शुक्रबार दिउँसो माओवादी कार्यालय शंखमूलमा ३३ दलको कार्यदलको बैठक बसेको छ । सो बैठकले वार्तामा नजाने भन्दै २५ गतेसम्मको आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको कार्यदलका सदस्य किशोर विश्वासले बताउनुभयो ।