साउदीमा अवैध विदेशी कामदारमाथि कडा कारवाही , रोजगारदातालाई १ लाख जरिवाना, ९ लाखलाई डिपोर्ट

४ बैशाख, रियाद । करिव ६ लाख नेपाली श्रमिकले काम गरिरहेको साउदी अरेबियामा अवैध विदेशी कामदार र उनीहरुलाई रोजगारी दिने कम्पनीमाथि कडा कारवाही थालिने भएको छ ।

साउदी अरेबियाको श्रम मन्त्रालयले देशमा श्रम कानून उल्लंघन गर्ने कम्पनीहरुमाथिको निगरानी बढाइने र उल्लंघनकर्ता कम्पनीलाई कडा कारवाही गरिने बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तरवार्तामा बोल्दै मन्त्री दाउद अल शिरियानले कानून उल्लंघन गर्ने कम्पनीका बारेमा विभिन्न ३ तरिकाले सरकारलाई जानकारी गराउन सकिने बताएको अरब न्यूजले जनाएको छ । उनका अनुसार सर्वसाधारणले मन्त्रालयको टोल फ्री नम्बरमा फोन गरेर सिधै त्यस्ता कम्पनी तथा व्यक्तिबारे जानकारी गराउन सक्छन् ।

दोस्रो विकल्प कम्पनीको मालिक आफैले अनलाइनमार्फत आफ्नो व्यवसायको अनुगमन गरी कतै आफ्नै कम्पनीले कानून उल्लंघन त गरिरहेको छैन भन्ने बारेमा अध्ययन गरी जानकारी प्राप्त गर्न सक्छन् । उनका अनुसार मन्त्रालय आफैले पनि विभिन्न कम्पनीहरुको नियमित अनुगमन गरी यस बारेमा जानकारी लिनेछ ।

मन्त्री दाउदले एक लाख जना नयाँ निरीक्षणकर्तालाई यस्तो निरीक्षण कार्यमा खटाइने जानकारी दिए । ती निरीक्षणकर्ताले प्रहरीसँग मिलेर अनुगमन तथा निरीक्षणको काम गर्ने र श्रम कानूनको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने उनको भनाइ छ ।

रोजगारदातालाई १ लाख जरिवाना र दुई वर्ष कैद

सरकारलाई अवैध क्रियाकलाप असह्य हुने बताउँदै उनले नियम तथा कानून कडाइका साथ कार्यान्वयन गराइने प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार अवैध रुपमा विदेशी कामदार राख्ने कम्पनीलाई १ लाख साउदी रियालसम्म जरिवाना तथा सञ्चालकलाई २ वर्षसम्मको जेल सजाय हुनेछ । कम्पनीहरुमा श्रम कानून कार्यान्वयन गराउने सम्बन्धी नयाँ कार्यक्रम अर्को महिनादेखि सुरु हुने छ ।

९ लाखलाई घर फर्काइयो

मन्त्री दाउदले पछिल्लो १८ महिनामा ९ लाख विदेशी कामदारलाई उनीहरुको घर फर्काइएको र त्यसबीचमा ४ लाख साउदी कामदारलाई देशभित्रै रोजगारीमा खटाइएको जानकारी दिए । साउदी अरेबियामा वैधरुपमा काम गरिरहेका विदेशीको हकमा सरकारले कुनै अवरोध नगर्ने भन्दै उनले अहिले ७५ लाख विदेशी कामदारले साउदी अरेबियामा काम गरिरहेको तथ्यांक पनि प्रस्तुत गरेका छन् । जसमा नेपाली कामदारको संख्या करिव ६ लाख रहेको अनुमान गरिएको छ ।

यसैबीच साउदी अरेबियाली महिलाले विदेशी पुरुषसँग विवाह गरेर जन्मिएका सन्तान साउदी अरेबियाका नागरिक हुनेसमेत मन्त्रीले स्पष्ट पारेका छन् ।