२८ वर्ष नाघेको विद्यार्थी उमेद्वार बन्न नपाउने स्ववियु चुनाव जेठमा हुने

२३ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा २८ वर्ष नाघेको विद्यार्थीले उमेद्वार बन्न नपाउने नयाँ नियमावली बनेको छ । शुक्रबार त्रिवि सभाले पारित गरेको स्ववियु चुनावसम्बन्धी नयाँ नियमावलीमा संविधानजसभामा जस्तै आधा प्रत्यक्ष र आधा समानुपातिक निर्वाचन प्रणाली अपनाइने भएको छ ।



यसअघि जति वर्ष उमेर पुगेको विद्यार्थीले पनि स्ववियू चुनावमा भाग लिन पाउने व्यवस्था थियो । तर, पुरानो नियमावलीलाई संशोधन गर्दै २८ वर्षभन्दा कम उमेरको नियमित अध्ययनरत विद्यार्थीमात्रै उमेद्वार बन्न पाउने नयाँ व्यवस्था गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष एवं त्रिविका सिनेट सदस्यले अनलाइनखबरलाई बताउनुभयो । तर, २८ वर्षे उमेर हदको कार्यान्वयन यसपालिको निर्वाचनमा लागू नहुने र ०७१सालपछि मात्रै कार्यान्वयन हुने शर्माले बताउनुभएको छ ।

नयाँ नियमावलीअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ भने उपाध्यक्ष र सहसचिव पदका लागि समानुपातिक प्रणाली अपनाइने छ । त्यसैगरी सदस्यहरुमा ५०/५० प्रतिशत समानपातिक र प्रत्यक्ष प्रणाली अपनाइने भएको छ । स्ववियूमा विद्यार्थी संख्याका आधार ११ देखि २१ जनासम्म सदस्य रहने व्यवस्था छ ।

जेठको पहिलो सातामै स्ववियू चुनाव गर्ने त्रिविले निर्णय गरेको छ । चुनावको मिति आइतबार कार्यकारी समितिको बैठकले तय गर्ने बताइएको छ । पाँचवर्षदेखि हुन नसकेको स्ववियू चुनाव त्रिविका ६० वटा आंगिक क्याम्पस र ८ सय ९२ वटा त्रिविका सम्बन्धन प्राप्त निजी एवं पब्लिक कलेजहरुमा हुने छ । ‘अब निजी कलेजमा पनि स्ववियु चुनाव हुन्छ ।- नेता शर्माले बताउनुभयो ।

नेविसंघ र एमाले अखिलको आपत्ति

स्ववियु निर्वाचन नियमावलीमा संशोधन गरिएकोमा नेविसंघ र एमाले निकट अनेरास्ववियूका प्रतिनिधिले आपत्ति जनाएका छन् । त्रिविसभामा सहभागी नेविसंघ नेतृ एवं पीके क्याम्पस सभापति लालकुमारी पोखरेल र नेपाल ल क्याम्पसका स्ववियू सभापतिसमेत रहेका अनेरास्वनियु नेता गुणराज आचार्यले संशोधित नियमावलीलाई नमान्ने घोषणा गर्दै सिनेट बैठकसमेत बहिस्कार गरेका छन् ।

बैठकमा बित्रिका कुलपतिसमेत रहनुभएका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र शिक्षामन्त्रीले विद्यार्थीहरुको विवाद चासोका साथ सुन्नुभएको थियो ।