सामाजिक अभियन्ता तुलसी थापालाई भेरी नदीले बगाएर बेपत्ता

कलेन्द्र सेजुवाल, सुर्खेत, वैशाख ८- सुर्खेतको सामाजिक क्षेत्रमा सक्रिय महिला तुलसी थापा भेरी नदीमा डुबेर बेपत्ता भएकी छन्। शनिबार साँझ जहरेबाट बेपत्ता उनको शव अहिलेसम्म भेटिएको छैन।



'तुलसी थापा' सुर्खेतको सामाजिक अभियानमा चर्चित नाम हो। सुर्खेतस्थित महिला जेसिजको संस्थापक कार्यकारिणी उपाध्यक्ष र हाल कानुनी सल्लाहकार रहेकी ३५ वर्षीया उनी जेसिज अभियानमार्फत स्वयंसेवामा तल्लिन थिइन्। 'अत्यन्त सक्रिय, मिलनसार र सहयोगी स्वभावकी तुलसीको देहान्तले यहाँको सामाजिक अभियानमा अपुरणीय क्षति पुगेको छ,' महिला जेसिजकी कार्यकारिणी उपाध्यक्ष पुष्पा मल्लले भनिन्, 'सुर्खेती समाजले उहाँको खाँचो सदैव महसुस गर्नेछ।'



उनी क्यान्सर रिलिफ सोसाइटीमा समेत बोर्ड सदस्य थिइन्। पाँच वर्षअघि मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु भएपछि १२ वर्षीय छोरी र पाँच वर्षीय छोराको साथमा बस्दै आएकी थिइन्। 'यस्तो अवस्थामा समेत उहाँले आफूलाई सामाजिक सेवामा सधैँ समर्पित गर्नु भयो,' महिला जेसिजकी संस्थापक अध्यक्ष सीमा चन्दले भनिन्, 'उहाँले वास्तवमै शोकलाई सामाजिक शक्तिमा बदल्नु भएको थियो।'



तुलसी आफ्नी छोरी, बहिनी-ज्वाइँसहित शनिबार दिउँसो ड्राइ पिकनिकको लागि भेरी गएकी थिइन्। घर फर्किने बेला स्याम्पू पखाल्न भन्दै भेरीमा नुहाउन पसेकी उनी भङ्गालोमा परेकी थिइन्। छोरीले आमालाई नदीले बगाएको देखे पनि उद्दारमा ढिलाइ हुँदा हेर्दाहेर्दै बेपत्ता भएकी थिइन्। शनिबार साँझदेखि आफन्त, स्थानीयबासी र सुरक्षाकर्मीले खोजतलास गरे पनि उनको शव भेटिएको छैन।