गोर्खाली त मान्छेको मासु पनि खान्छन्, खुकुरीले एक किलोमिटर टाढाको विपक्षी पनि चिन्छ

चैत ३१ - 'गोर्खाली त मान्छेको मासु पनि खान्छन्, उनीहरुका खुकुरीले एक किलोमिटर टाढाको विपक्षी पनि चिन्छ रे भनेर बेलायतीले अर्जेन्टिनीलाई तर्साएछन्' गोर्खालीले पन्ध्र दिनदेखि पर्याप्त खाना पाउन छाडेका थिए। अर्जेन्टिनी सेना युद्धग्रस्त क्षेत्रमा खाद्यान्न 'सप्लाई' रोक्न सफल भएपछि गोर्खाली सेनालाई फालेको खानेकुरा खोज्दै ज्यान धान्नुपर्ने संकट आयो। 'बाटोमा एउटा चुरोट भेटियो भने साथीहरु पालैपालो तान्थ्यौं,' ३० वर्षअघि बेलायतका तर्फबाट अर्जेन्टिनाविरुद्ध लडेका गोर्खाली पल्टनका सदस्ष् खोटाङ कात्तिकेका बुद्धिराज राईले युद्धका विकट सम्झना सुनाए, 'चाउचाउजस्ता खानेकुरा भेटिए टन्न सुप उमालेर पिउँथ्यौं।'



माइनस १३ डिग्री आसपास तापक्रम। सबैका जिउ सुन्निएको थियो। साथीकै अनुहार चिन्न मुश्किल- लामालामा दाह्रीजुँगा र कपालले जिङ्ग्रिङ। 'आवाजले मात्रै चिन्थ्यौं,' युद्धका दृश्यहरू सुनाउँदै राईले भने, 'शव र घाइते सैनिकलाई टेक्दै अघि बढ्नु पर्ने!' गोली र बम पड्केको आवाजले उनीहरूका कान पनि फुटेझैँ भए।

गोली चल्दैछ भन्ने पर्वाह पनि हुन छाड्यो गोर्खालीलाई। विस्फोटको उज्यालोले रात पनि फाड्थ्यो। मेसिनगनको गोली पनि सामान्य लाग्न थालेको थियो। आर्टिलरीबाट खस्ने गोलाले नजिकैको स्थानमा भैंसी नै डुब्ने खाल्टो पार्ने गरेको थियो। 'अहिले पनि ती दृश्यहरु मेरा आँखा अघि नाच्छन्,' पूर्व गोर्खा सैनिक राईले भने, 'सबै कुरा सम्झँदा बाँचेर फर्कनु पुनर्जीवन प्राप्त गरेजस्तो लाग्छ।'

फकल्यान्डमा कब्जा जमाउने त्यस युद्धका नायक बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरको यसै साता निधन भएपछि युद्धका विभिन्न प्रसंग बाहिर आएका छन्। ...

अर्जेन्टिनाले 'माल्भिनास द्वीप' भन्ने गरेको फकल्यान्ड आन्ध्र महासागरको सुदूर दक्षिणमा अवस्थित छ, अर्जेन्टिनाको मुख्य भूभागको तटबाट लगभग ५ सय किलोमिटर पर। फकल्यान्ड द्वीप समूह विभिन्न समयमा फ्रान्सेली, बेलायती, स्पेनिस र अर्जेन्टिनाको नियन्त्रणमा थियो।

सन् १८८३ यता यो द्वीप समूह बेलायती अधीनमा रहँदै आएको छ। अर्जेन्टिनाले सन् १९८२ अप्रिल २ मा सेना पठाएर साउथ जर्जिया र फकल्यान्डमाथि नियन्त्रण कायम गरेपछि बेलायत र अर्जेन्टिनाबीच युद्ध सुरु भएको थियो। दुई महिना १३ दिन चलेको उक्त युद्धसँगै अर्जेन्टिनाले कब्जा टापु गुमायो। बेलायतका तर्फबाट गोर्खालीले उनीहरुको मुख्यालय कब्जामा लिएको आधा घन्टामै अर्जेन्टिनाले आत्मसमर्पण गरेको थियो।

१ सय ३९ टापु क्षेत्रमा फैलिएको फकल्यान्ड (पूर्व फकल्यान्ड र पश्चिम फकल्यान्डसमेत) को सार्वभौतिकताको थ्याचरको निधनसँगै बहसमा आएको छ। थ्याचरको निधनलाई जोडेर बेलायत सरकारले फकल्यान्ड युद्धको विस्मृतिलाई पुनर्ताजगी गरेर राष्ट्रवादी भावना जागृत गराउन खोजेको चर्चा छ। थ्याचर परिवारको आग्रहमा अर्जेन्टिनाका राष्ट्रपति क्रिस्टिना किर्च्नरलाई अन्त्येष्टिमा प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भएको छ। ----

फकल्यान्ड युद्ध सुरु हुँदा राई बेलायती सेनामा छिरेको दुई वर्ष मात्रै भएको थियो। 'एकपटक पनि बिदामा आएको थिइनँ,' उनले सम्झे। त्यस समय उनी ल्याटिन अमेरिकी मुलुक बेलिजमा तैनाथ थिए। बेलिज भर्खरै बेलायती उपनिवेदशबाट स्वतन्त्र भएको थियो। त्यसमाथि ग्वाटेमालाले आफ्नो सार्वभौमिकता दाबी गरेपछि तनाव बढेको थियो।

'हामी ग्वाटेमालाका सैनिकलाई रोक्न सीमामा तैनाथ थियौं,' राईले सुनाए, 'त्यसको केही दिनपछि नै फकल्यान्डमा युद्ध सुरु भएको जानकारी आयो, हामीलाई विमानमा बेलायत पुर्याआइयो।'

गोर्खाली नपुग्दै त्यहाँ उनीहरुका लागि युद्धका बन्दोबस्ती भइसकेको थियो। १२ घन्टामै युद्धक्षेत्र फकल्यान्ड पठाइयो। अर्जेन्टिनाविरुद्ध युद्धमा गोर्खासैनिक परिचालन गरिएको समाचार त्यतिबेला बेलायती सञ्चारमाध्यमले प्राथमिकतासाथ दिए। यसरी बेलायतीहरु मनोवैज्ञानिक युद्धमा होमिइसकेका थिए। 'गोर्खाली युद्ध लड्न हिँडे भनेर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो,' राईले भने, 'उनीहरुले ६ हजार गोर्खाली सैनिक हिँडे भनेर प्रचार गरेका थिए, तर हामी ६ सय ५१ मात्र थियौं।' गोर्खाली सवार पानीजहाज आन्ध्र महासागरबाट दक्षिण हान्निएको थियो। 'युद्धक्षेत्र पुग्न हामीलाई २८ दिन लागेको थियो,' उनले भने, 'त्यसअघि दक्षिण अफ्रिका पुगेपछि पानीजहाज केही समय रोकियो।'

बाटोमा धेरैपटक अवरोधको सामना गर्नुपरेको उनी सम्झन्छन्। 'फकल्यान्ड नजिकै पुग्दा थुप्रै युद्धक विमान देखिन थाले,' उनले भने, 'राडरले निकै परको हवाइजहाजबारे सुइँको पाइहाल्थ्यो र साइरनबाट सूचना दिन्थ्यो। त्यसपछि त हतियार लिएर तम्तयार भइहाल्थ्यौं।' बाँकी समय पनि खाली रहँदैनथ्यो। 'निशाना लगाउने अभ्यास चली नै रहन्थ्यो,' उनले भने। बेलायतबाट पानीजहाज हिँड्दा उनीहरुसँग बाटो देखाउन केही बेलायती सैनिक पनि थिए।

'बीच बाटोमा पुगेपछि उनीहरु सुविधासम्पन्न अर्काे पानीजहाजमा गए,' उनले भने, 'अभागी रहेछन्, अर्जेन्टिनी बमले उडाइए।' गोर्खाली सैनिकले युद्धका लागि फकल्यान्डले बनाएको केन्द्र नियन्त्रणमा लिएको केही समयमै अर्जेन्टिनाले आत्मसमर्पण गरेको थियो।

'अर्जेन्टिनीले बनाएको त्यहाँ बनाएको हेडक्वाटर गोर्खाली सैनिकले नै नियन्त्रणमा लिएका हुन्,' राईले भने, 'पोर्ट स्याट््यान्लीनजिकै चट्टानी पहाडमा उनीहरुले टोनेल बनाएर बसेका थिए।' उनीहरुले त्यसलाई कुनै आर्टिलरी, विमान वा बाहिरबाट बम पड्काउँदै केही नहुने अवस्था गरी निर्माण गरेका थिए। 'स्थलसैनिकले बाहेक अरुले नियन्त्रण लिने अवस्था त्यसमा थिएन,' उनले भने, 'तीनतिरबाट गोर्खाली सैनिकले फर्मेसन त्यहाँ पुगेपछि कति अर्जेन्टिनी सैनिक युद्ध नै नलडी भागे।'

अर्जेन्टिनाले फकल्यान्ड कब्जा गर्न राम्रै तयारी गरेको राईले देखेका थिए। 'निकै बन्दोबस्त देखिन्थ्यो। टोनेल भित्रै १०-१५ जना अटाउने मेस समेत बनाएका रहेछन्,' उनले भने, 'जितको दिन नै हामीले अघाँउजी खाना पायौं। बाँकी बेलायती सैनिकलाई हेलिकप्टर मगाएर खानेकुरा पठाइदियौं।' युद्धको क्रममा ६ सय ४९ जना अर्जेन्टिनी, २ सय ५८ बेलायती र एक गोर्खालीको मृत्यु भएको थियो।

'त्यो गोर्खाली सैनिक पनि युद्धमा मरेको होइन,' राईले भने, 'युद्ध सकिएपछि अर्जेन्टिनी सेनाले खनेको ट्रेन्चमा ग्रिनेडले भेट्यो।' युद्धमा धेरै गोर्खाली घाइते भए। 'भाग्यले राम्रै साथ दियो,' उनले भने, 'नजिकै आर्टिलरी खस्दा पनि लुगा डढे, कसैको हात गुम्यो। तर मृत्यु भने कसैको भएन।' एक महिनापछि गोर्खाली सैनिक बेलायत फर्के। त्यहाँ उनीहरुको भव्य स्वागत भएको थियो।

'ब्यारेकको तीन-चार किलोमिटर परैबाट सर्वसाधारण दुवैतर्फ लामबद्ध भएर हामीलाई स्वागत गरे,' उनले सम्भि्कए, 'बेलायत सरकारले दुइटा तक्मा त दियो, तर दैनिक युद्धभत्ता पाँच पाउन्ड दिने भनेकामा एक पाउन्ड मात्रै दिएर ठग्यो।' सबैभन्दा अप्ठ्यारो स्थानमा युद्ध लड्ेका गोर्खालीमाथि बेलायत सरकारले दिन्छु भनेर ढाँटेको उनले दुखेसो गरे। ---

बेलायतीहरुले गोर्खालीबारे अनर्गल प्रचार गरेछन् फकल्यान्डमा। 'मानिसको मासु पनि खान पछि पर्दैनन् रे! गोर्खालीका खुकुरीले एक किलोमिटर परिधिमा विपक्षी भयो भने पनि थाहा पाउँछ रेजस्ता कुरा गर्दा रहेछन्,' उनले सुनाए, 'बेलायतीहरुले अर्जेन्टिनीलाई तर्साउन हाउगुजी देखाएका रहेछन्।'

सुरुङभित्र धेरै अर्जेन्टिनी सैनिक थिए। 'तिनै पिओडब्लु (प्रिजनर अफ वार) सँग सोधपुछमा उनीहरुले यस्तो सुनाएका हुन्,' राईले भने। बेलिजमा बसेका गोर्खाली स्पेनिस बोल्न सक्थे। 'हामीले उनीहरुसँग स्पेनिसमै कुराकानी गरेका थियौं,' उनले भने, 'हामीलाई लड्न मन थिएन, तर यो गाल्टेरी (सैनिक शासन) ले जबर्जस्ती पठायो भन्थे।'

बेलायतमा गोर्खाली हाई-हाई भए पनि अर्जेन्टिनामाझ नेपालीको छवि त्यसले राम्रो बनाउन सकेन। नेपालीका युद्धमा संलग्नताले कूटनीतिक क्षेत्रमा अर्जेन्टिनाले त्यस समय अप्ठ्यारो पारेको थियो। ---

फकल्यान्ड युद्धका पराजित भएपछि अर्जेन्टिनामा ठूलो असन्तुष्टि उत्पन्न गर्यो् र त्यहाँ सैनिक शासनको पतन नै भयो। पहिलेदेखि आर्थिक संकटका कारण सैन्यसत्तासँग आक्रोशित जनताको ध्यान अर्कोतर्फ मोड्न उसले युद्ध सुरु गरेको आरोप अर्जेन्टिनामाथि थियो। युद्धमा पराजय भएपछि जनता अझै आक्रोशित बने र सैनिक शासनको पतन भयो। थ्याचरलाई भने युद्ध फलिफाप भयो। गिर्दो लोकप्रियतालाई त्यसले माथि उठायो। निर्वाचनमा उनको दलले अत्यधिक मत पायो। ---

युद्धको प्रभाव नेपाल, बेलायत र अर्जेन्टिना तीनतर्फ पर्योि। यस विषयमा गीत, कथा, कविता लेखिए, चलचित्र बने। मणि थापाका शब्दमा जीवन शर्माले गाए- 'फकल्यान्डको युद्धबाट, लडाइँको मैदानबाट....!'

फकल्यान्ड विवाद अझै समाप्त भइसकेको छैन। फकल्यान्डको अधीनताबारे दुई साताअघि त्यहाँ जनमतसंग्रह पनि भयो। परिणाम बेलायतकै पक्षमा आयो। फकल्यान्ड बेलायतकै समुन्द्रपारको भूभागका रुपमा रहने जनमत आयो। चुनावी परिणामलाई अर्जेन्टिनाले भने अस्वीकार गर्दै आएको छ। अर्जेन्टिना राष्ट्र संघको 'उपनिवेशविरोधी प्रस्ताव' विपरीत सो भूभागमाथि नियन्त्रण गर्दै आएको बताउँछ। आफ्नो भूभाग भएको बताउँदै तत्काल फिर्ता गर्न माग गरेको छ। पछिल्लो समय त्यहाँका क्षेत्रमा तेलका उत्खनन्को काम सुरु भएको छ। त्यसले विवादलाई झनै बढाउने काम गरेको छ।

पहिले र अहिलेको अवस्था फरक छ। अहिले ल्याटिन अमेरिकी देशको अर्जेन्टिनी दाबीलाई साथ दिएका छन्। उनीहरुले फकल्यान्डका झन्डा हुने कुनै पनि पानीजहाजलाई आफ्नो बन्दरगाहमा प्रतिबन्धित गरेका छन्।