चीन भ्रमण आर्थिक मुद्दामा केन्द्रीत हुन्छ : प्रचण्ड

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिका लागि हुन लागेको बताउनुभएको छ ।



आइतवार चीन भ्रमणमा जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै प्रचण्डले छिमेकी मित्र राष्ट्रहरुले गरेको आर्थिक उन्नति र प्रगतिबाट फाइदा लिने गरी आफूले भ्रमणको सुरुवात गरेको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विगतमा एउटा मुलुकविरुद्ध अर्को मुलुकलाई प्रयोग गर्ने विरासतलाई अन्त्य गर्दै उनीहरुको आर्थिक विकासलाई नेपालको बृहत्तर हितमा प्रयोग गर्न हामीले पहल गर्नु पर्दछ । आजबाट सुरु भएको चीन भ्रमण र केही समय पछि हुने भारत भ्रमण पनि सोही दिशामा नै केन्दि्रत हुन्छ ।’

उहाँले चीन भ्रमणलाई नेपाल सरकार र चीन सरकारले आधिकारिकता प्रदान गरेर जसरी महत्व दिएको छ यसले आफूमा जिम्मेवारी बढेको र नेपालको हितअनुरुप नै काम गर्नुपर्दछ भन्ने दृढ विश्वास पलाएको धारणा राख्नुभयो । मुलुकभित्र निकट भविष्यमै हुन लागेको संविधानसभाको नयाँ निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनका लागि सहयोगको आग्रह गरिने अध्यक्ष प्रचण्डले बताउनुभयो । भ्रमणको क्रममा चीनका राष्ट्रपति, प्रधानमन्त्री, कम्युनिस्ट पार्टीका उच्च स्तरीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

चीन भ्रमण लगत्तै भारतको समेत भ्रमण गर्न लागेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकसँग समदुरीको सम्बन्ध राखेर नेपालको सर्वोपरी हितमा नै भ्रमण केन्दि्रत हुने उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डका साथमा पत्नी सीता दाहाल र अन्य सहयोगीहरु सहभागी रहनुभएकोछ । रासस