यौनक्रिडा गरिरहेका अवस्थामा पक्राउ परेका २१ जनाविरुद्ध सार्वजनिक मुद्दा

इटहरी, वैशाख ८-होटल तथा रेस्टुराँमा यौनक्रिडा गरिरहेको अवस्थामा फेला परेका २१ जनालाई प्रहरीले सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएको छ। यो साता इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट परिचालन भएका टोलीले होटलमा छापा मारेर ती मानिसलाई पक्राउ गरेको हो।



यस हप्ता होटल तथा रेस्टुराँबाट पक्राउ परेका ती सबैलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रवीन कार्कीले जानकारी दिनुभयो। यो हप्ता इटहरीको ब्ल्यूस्टार, इटहरी होटल र गुरुङ होटलबाट १३ जना अवैध यौनकर्मीलाई पक्राउ गरिएको थियो। त्यसैगरी यसै हप्ता न्यू रुमा होटलबाट तीन जना र बस स्टेसनमा रहेको कान्तिपुर होटलबाट पाँच जनालाई पक्राउ गरिएको थियो। अहिले अवैध यौनधन्दा चलाउने होटलमा प्रहरीले निगरानी बढाएको छ।



महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार, घरेलु हिंसा तथा जातीय छुवाछूतलगायतका विषयमा कडाइका साथ अनुगमन गर्न र त्यस्ता घटनामा संलग्न व्यक्तिलाई छानबिन गरी कानुनको दायरामा ल्याउन प्रहरी परिचालन हुन थालेको बताइएको छ।



यो साता इटहरी नगर क्षेत्रबाट विभिन्न लागुऔषधसहित पक्राउ परेका १३ जनामाथि पनि कारबाही भइरहेको प्रहरीले बताएको छ। रासस