प्रचण्डले भारत जाने हल्ला गर्दा चीन रिसायो

३१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि आइतबार साताव्यापी चीन भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणअगावै प्रचारबाजी बढ्ता भएको भन्दै चिनियाँ पक्ष असन्तुष्ट देखिएको छ ।



एमाओवादी नेताहरुले प्रचण्डको चीन भ्रमणसँगै मिति नै टुंगो नलागेको भारत भ्रमणको समेत प्रचार गरेका छन् । प्रचण्ड चीनबाट फर्केलगत्तै भारत जानुहुनेछ भन्ने दोस्रो तहका एमाओवादी नेताहरुको भनाइमै सही थाप्दै प्रचण्ड आफैंले पनि नेपालको आर्थिक विकासका लागि चीन जान लागेको र त्यहाँबाट फर्केपछि सम्भवतः तत्कालै भारत जाने अभिव्यक्ति दिइरहनुभएको छ । यसबाट ‘साइलेन्स डिप्लोम्यासी’का पक्षपाती चिनियाँ अधिकारीहरु असन्तुष्ट देखिएका हुन् ।

‘यो भ्रमणलाई बढ्ता प्रचारबाजी नगरौं, यस्तो प्रचार उनीहरुले नरुचाउँदारहेछन् ।’- चिनियाँ पक्षको असन्तुष्टितर्फ संकेत गर्दै एक एमाओवादी नेताले अनलाइनखबरसँग भने ।

बाबुराम र नारायणकाजीले गर्दा भ्रमणै रद्द

एकीकृत माओवादीका नेताहरुले चिनियाँ अधिकारीसँगको सम्बन्धबारे हौसिएर प्रचार-प्रसार गर्दा विगतमा निकै ठूलो हण्डर खानुपरेको छ । गत साल पौषमा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपाल आउने प्रचार तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले एकतर्फीरुपमा सार्वजनिक गर्नुभएको थियो । त्यसरी भ्रमणको तिथि सार्वजनिक गरेपछि चिनिया अधिकारीहरु नेपालका प्रधानमन्त्रीसँग रुष्ट हुँदै भ्रमण कार्यक्रम नै रद्द गरेका थिए । त्यसपछि पुस ३० गते चिनियाँ प्रधानमन्त्री वेन छापामार शैलीमा ५ घण्टा नेपाल भ्रमण गरेर अरब राष्ट्रतिर लागेका थिए ।

चिनियाँ प्रधानमन्त्रीको भंमण स्थगनको घटनाबारे एमाओवादी नेता भन्छन्- ‘बाबुरामजीले पनि गलत नियतले बोल्नुभएको होइन, खुशी भएर चिनियाँ प्रधानमन्त्री आउँदैछन् भन्नुभएको हो । तर, उनीहरु रिसाए ।’

विगतमा यसरी अनावश्यक हल्ला गर्दा भ्रमणै रद्द भएको घटनालाई बिर्सँदै यसपटक पनि प्रचण्डको चीन भ्रमण र त्यसका एजेन्डाबारे हल्ला गरिएपछि झण्डै विगतको इतिहास दोहोरिएको छ । तर, भारतसँगै जोडेर गरिएको प्रचारबाट रुष्ट देखिएको चीनले भ्रमणको तिथि नजिकै आइसकेकाले प्रचण्डको भ्रमण स्थगन गर्ने आँट भने गर्न सकेन ।

के छ चीन भ्रमणको एजेण्डा ?

भ्रमणका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ । उच्चस्तरीय राजनीतिक समितिको संयोजकसमेत रहेका प्रचण्डको भ्रमणलाई उच्चस्तरको भनिएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार सरकारले समेत प्रचण्डको भ्रमणलाई राजनीतिक समितिको संयोजकको हैसियतमा भएको भन्दै चीनलाई पत्राचार गरेको छ । सरकारले औपचारिकता प्रदान गरेपछि प्रचण्डको यो भ्रमण राजनीतिक मात्रै नभई सरकारी स्तरको रहेको दाबी एमाओवादी नेताहरुले गरेका छन् ।

चुनावको मुखमा हुन लागेको प्रचण्डको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डको भ्रमणमा राजनीतिकसँगै आर्थिक एजेण्डाले प्राथमिकता पाउने माओवादी श्रोतले जनाएको छ । ‘राजनीतिक नेताको भ्रमणमा राजनीतिक कुराकानी हुनु त स्वभाविक नै हो । तर, योपटक आर्थिक एजेण्डाले नै प्राथमिकता पाउँछ’- प्रचण्डनिकटका एक नेताले अनलाइनखबरलाई भने ।

गत माघमा हेटौंडामा सम्पन्न सातौं महाधिवेशनले आर्थिक उत्पादनमा जोड दिने नीति पारेको गरेको छ र यसलाई चुनावी एजेण्डा बनाउने माओवादी तयारी छ । त्यसैले पनि प्रचण्डले यो भ्रमणमा आर्थिक एजेण्डालाई प्राथमिकता दिनु स्वभाविक भएको विश्लेषकहरु बताउँछन् ।

श्रोतका अनुसार प्रचण्डले जलविद्युत र पर्यटनमा चिनियाँ सहयोग जुटाउन पहल गर्नुहुनेछ । यसबारे उहाँले उद्योगी व्यवसायीहरुसँग परामर्श गरिसक्नुभएको छ । चिनियाँ अधिकारीहरुसँग पोखरा विमानस्थल निर्माण, पश्चिम सेती जलविद्युत आयोजनासँगै पूर्वाधार विकासमा सहयोग गर्न प्रस्ताव गर्ने प्रचण्डको तयारी छ । एसिया प्यासिफिक एक्सचेन्ज को-अपरेसन फाउण्डेसन (एपेक) का उपाध्यक्षसमेत रहेका प्रचण्डले लुम्बिनीको विकासका लागि समेत सहयोग जुटाउन पहल गर्नु हुनेछ ।