काठमाडौँ, चैत २६ - सरकारले आव २०६९/०७०को वार्षिक बजेट रु चार खर्बभन्दा माथिको ल्याउने भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाका अनुसार सरकारले मङ्गलबार पूर्ण आकारको बजेट ल्याउन लागेको हो। बजेटमा विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने अध्यादेश समावेश हुने बताइएको छ। प्रवक्ता देवकोटाका अनुसार सरकारले आगामी संविधानसभाको निर्वाचन र नियमित खर्च चलाउनका लागि रु चार खर्बभन्दा माथिको बजेट ल्याउने छ। बजेटमा कुनै नयाँ कार्यक्रम र नीति भने नसमेटिने मन्त्रालयको भनाइ छ।
यसअघि राजनीतिक सहमति जुट्न नसक्दा दुई पटक सञ्चित कोषबाट रकम झिक्ने तथा खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेशमार्फत चालु आवको खर्च चलाएको थियो। यस्तै गत आवको कुल व्यय रकमको एक तृतीयांशमा नबढ्ने गरी गत असार ३१ मा अध्यादेशमार्फत बजेट जारी गरिएको थियो।
पूर्ववर्ती सरकारले एक पटक एक तृतीयांश र अर्को पटक सञ्चित कोषबाट रकम झिक्ने तथा खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेशमार्फत काम चलाएको थियो। यस पटक ल्याउन लागिएको बजेटमा अरू कुनै नयाँ योजना र कार्यक्रम नरहे पनि निर्वाचनलाई भने केन्द्रित गरिने छ। रासस
मंगलबार चार खर्बमाथिको बजेट आउँदै