धेरै किताब बेच्ने माड्साबले बैंकक घुम्न पाउने

८ वैशाख, काठमाण्डौं । नयाँ शैक्षिक सत्रसँगै पाठ्यपुस्तक बिक्री वितरण गर्ने स्टेसनरी व्यवसायी र विद्यालय सञ्चालकहरुलाई पुस्तक प्रकाशकहरुले थाइल्यान्ड भ्रमणलगायतका प्रलोभन देखाउने गरेका छन् । कम गुणस्तरका पाठ्यपुस्तक पाठ्यक्रममा लागू गराएर निजी विद्यालय आवद्ध संगठन प्याव्सन, एन प्याव्सनका पदाधिकारीलगायत विद्यालय सञ्चालकहरुलाई प्रकाशन गृहले भ्रमणमा लैजान थालेका हुन् ।



कपिलबस्तुका एक निजी विद्यालय सञ्चालकले यस बर्ष प्रकाशन गृहको कमिसनमा जिल्लाका आठ निजी विद्यालय सञ्चालक थाइल्याण्ड घुम्न जाने तयारीमा रहेको जानकारी दिए । ५ सय विद्यार्थी भएका विद्यालय सञ्चालकलाई नवकला, अक्सबि्रज जस्ता प्रकाशन गृहले कमिसन दिने गरेका छन् । कमिसनमा विदेश सयरमा जाने अधिकांश सदरमुकाम तौलिहवाका विद्यालय सञ्चालक रहेको कारोबार दैनिकमा खबर छ ।

विद्यार्थीको वृत्तिविकास शीर्षकमा प्रकाशन गृहले विद्यालय सञ्चालकलाई कमिसन उपलब्ध गराउन सुरु गरेका हुन् ।