मदिरा र मासु बिक्री निषेध-
बालकृष्ण अधिकारी, परासी, चैत २६ - नेपाली कांग्रेसको महाधिवेशनपछि सबैभन्दा शक्तिशाली निकाय महासमिति बैठक सोमबार नवलपरासी सदरमुकाम परासीमा सुरु हुँदैछ। परासीस्थित आदर्श उच्च माविमा सोमबार मध्याह्न १२ बजे सभापति सुशील कोइरालाले बैठक उद्घाटन गर्ने छन्।
कांग्रेसले बैठकको सबै तयारी पूरा भएको जनाएको छ। सबै महासमिति सदस्य भने अझै आइपुगेका छैनन्।
सभापति कोइराला दुई दिनदेखि बन्दसत्र हुने त्रिवेणी मोक्षधाममा छन्। उनी सोमबार बिहान परासी आउने छन्। त्यस्तै, वरिष्ठ नेता शेरबहादुर देउवासहित नेताहरु सोमबार मात्र राजधानीबाट आउने तयारीमा छन्। नेकपा-माओवादीसहित ३३ दलको बन्दले आइतबार एकाध महासमिति सदस्यबाहेक अधिकांशलाई परासी आउन दिएन।
उद्घाटन सत्रका लागि नगर क्षेत्रमा २५ वटा स्वागतद्वार र ५० भन्दा बढी स्वागत बयानर लगाइएको छ। उद्घाटनस्थलको आमसभालाई कांग्रेसले शक्ति प्रदर्शनको रुपमा लिएको छ। उद्घाटनस्थल र आसपासको सरसफाई गरिएको छ। बन्दसत्र भने सदरमुकामबाट २३ किलोमिटर पूर्वको त्रिवेणीस्थित गजेन्द्रमोक्षधाममा हुने छ।
आमसभामा जिल्लाभित्रका ५० हजार कार्यकर्ता सहभागी हुने जिल्ला सभापति देवेन्द्रराज कँडेलले जानकारी दिए। पूर्णभद्र, सोनाभद्ररस्व्य नारायणी नदीको संगमस्थल त्रिवेणीधाम प्रख्यात तिर्थस्थल रहेकाले कांग्रेसलेे बैठकलाई कुम्भमेला भनेको छ।
शीर्ष नेताहरुलाई गजेन्द्रमोक्षधाम आश्रमस्थलभित्र रहेको नारायणी र गण्डकी भवनमा बस्ने व्यवस्था गरिएको छ भने केन्द्रीय सदस्यका लागि आश्रमभित्रको गुरुकुल विद्यालय भवन र अन्य अतिथि गृहमा व्यवस्था छ। दुई सय महिलाको लागि आश्रमस्थलको मुक्तिनाथ पिठ संस्कृत माविमा व्यवस्था छ।
मंगलबारदेखि गजेन्द्रमोक्षधाममा सुरु हुने बन्दसत्रमा दुई सय महिलासहित एक हजार तीन सय ३८ महासमिति सदस्यको सहभागिता रहने जिल्ला सभापति कँडेलले जनाकारी दिए। बैठकमा आउने प्रतिनिधिलगायत करिब दुई हजारका लागि खानपिनसहित आवासको व्यवस्था पूरा भएको उनले जानकारी दिए।
मुक्तिनाथ पिठाधिश्वर योगी कमलनयनाचार्यको आश्रमस्थल गजेन्द्रमोक्षधाममा हुने बैठकस्थलमा आठ सयजनाका लागि आवासको व्यवस्था गरिएको छ। त्यस्तै त्रिवेणी, परासी, सुनवल र वर्दघाटका होटलहरुमा प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको सभापति कँडेलले जानकारी दिए।
करिब दुई सय प्रतिनिधि र अतिथिलाई कार्यकर्ताको घरमा बस्ने व्यवस्था छ। बसोबास फरक फरक ठाउँमा भए पनि खानपिन बैठकस्थलमा नै हुनेछ। शाकाहारी भोजनको व्यवस्था गरिएको बैठकस्थलमा १० वटा मेस सञ्चालन गरिने नेपाली कांग्रेस क्षेत्र नं ४ का सभापति गुणनिधि तिवारीले जानकारी दिए।
महासमितिमा भाग लिन आउने नेतालाई सदरमुकाम परासी र आसपासमा बस्ने व्यवस्था छ। पदाधिकारीलाई गजेन्द्रमोक्षधाममा नै बस्ने व्यवस्था छ।
सभापति कोइराला नारायणी भवनमा बस्नेछन् भने शेरबहादुर देउवा, उसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलालाई आश्रमको गण्डकी भवन छुट्ट्याइएको छ । प्रकाशमान सिंह, चित्रलेखा यादव र गोपालमान श्रेष्ठ त्रिवेणी बजारको ग्रिनल्याण्ड होटलमा बस्नेछन्। सभापति कोइरालाले महासमिति बैठकबाट पार्टीको चुनावी रणनीति तयार गर्ने बताएका छन्।
केही नेताहरु भने भैरहवा, बुटवलमा बस्ने तय भएको बुझिएको छ। नौ सय प्रतितिनिधिलाई त्रिवेणीधाममा नै व्यवस्था मिलाइएको छ। केन्द्रीय सदस्यलाई सुनवल, वर्दघाट र परासी बजारमा होटलको व्यवस्था छ। परासी, सुनवल र वर्दघाटमा बसेका नेतालाई कार्यक्रम स्थललसम्म लैजान-ल्याउन दैनिक १० वटा बस गुड्नेछन्।
आयोजक जिल्ला समितिले महासमितिमा भाग लिन आएका सबै प्रतिनिधिलाई गण्डक वाँध अवलोकन गराउने कार्यक्रम बनाएको छ। भारतसँग गण्डक सम्झौता गरेर कांग्रेसले राष्ट्रघात गरेको एमालेसहित दलहरुले आरोप लगाउँदै आएका छन्।
बैठकलाई ध्यानमा राखेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। डिएसपीको नेतृत्वमा तीन सय ४७ प्रहरी खटाइएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा ८५ जनाको टोलीलाई व्याकअपको रुपमा राखिएको छ।
सोमबारको सभास्थलको सुरक्षार्थ प्रहरी निरीक्षकको नेतृत्वमा ३८ प्रहरी खटाउने स्थानीय प्रशासनको तयारी छ। गैंडाकोटदेखि त्रिवेणीधामसम्म सबै चोकमा प्र्रहरी खटाइएको छ। पार्टीले भ्रातृ संगठनहरु नेविसंघ, तरुण दल र भूतपूर्व सैनिक संघलाई पनि सुरक्षामा खटाएको छ।
२९ गतेसम्म चल्ने बैठक अवधिभर वरपर मदिरा र मासु बिक्री निषेध गरिएको छ।
बैठकमा ३० लाख रुपैयाँ खर्च हुने अनुमान छ। बैठक खर्च व्यवस्थापन गर्न सहभागी प्रतिनिधिबाट प्रवेश शुल्कबापत प्रतिव्यक्ति एक हजार ५ सय रुपैयाँ संकलन गर्ने कांग्रेसले जनाएको छ। सहभागी शुल्कबाट २० लाख ७० हजार उठ्नेछ। अपुग रकम सर्मथक र शुभेच्छुहरुबाट सहयोग लिने तयारी छ।
१२औं महाधिवेशन सम्पन्न भएको साढे दुई वर्षपछि हुन लागेको महासमितिमा आगामी संविधानसभा निर्वाचन, पार्टी विधान, सांगठनिक अवस्था एवं राजनीतिक प्रस्ताव लगायतमा छलफल हुनेछ।
कांग्रेस महासमितिको बैठक आजदेखि