भोट माग्ने भाँडो बन्न थाल्यो फेसबुक ! भारतमा समेत फेसबुक र ट्वीटरको चिन्ता
१ बैशाख, काठमाडौं । निर्वाचनको मिति निश्चित नभए पनि एमाले नेता कृष्णगोपाल श्रेष्ठको फेसबुकमा चुनाबी पोष्टर टाँसिइसकेको छ । सुरेश श्रेष्ठद्वारा सेयर गरिएको फेसबुक वालको पोष्टरमा भनिएको छ- ‘अरुलाई ठूलो पार्टी बनायौ पटक-पटक, एमालेलाई ठूलो पार्टी बनाऔ यसपटक ।’
अघिल्ला निर्वाचनमा फेसबुकको नाम नसुनेका धेरै नेपालीहरुका लागि यतिबेला नियमित दिनचर्याजस्तै बनिसकेको छ फेसबुक । यद्यपि आगामी चुनावमा फेसबुक र ट्वीटरले कस्तो भूमिका खेल्ला भन्ने विषयमा चाँहि अहिलेसम्म कसैले पनि अनुसन्धान वा विश्लेषण गरेका छैनन् ।
भारतीय चुनावमा फेसबुकको प्रभाव १० प्रतिशत
नेपालमा जस्तै भारतमा पनिसन् २०१४ मा लोकसभाको निर्वाचन हुँदैछ । भारतको आम चुनावमा फेसबुक र ट्वीटरले धेरै उमेद्वारहरुको हारजीत निश्चित गर्ने त्यहाँको अध्ययनले देखाएको छ । भारतमा हालै गरिएको एक अध्ययनअनुसार त्यहाँ हुने आगामी चुनावमा फेसबुक र ट्वीटरकै कारण १ सय ६० सीटको निर्वाचन प्रभावित हुने देखिएको छ । ’आइरिस नलेज फाउन्डेसन र इन्टरनेट एण्ड मोबाइल एसोसिएसन अफ इण्डिया’ले गरेको सर्वेक्षणअनुसार भारतीय लोकसभाको चुनावमा फेसबुक र ट्वीटरले १ सय ६० सीटमा प्रभाव पार्ने बीबीसी हिन्दी सेवाले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
समाचारमा जनाइएअनुसार भारतका कूल ६७ सीटमा फेसबुकको अत्यधीक प्रभाव देखिन्छ, जहाँ फेसबुक प्रयोग गर्ने मतदाता लगभग १० प्रतिशत छन् । अध्ययनले बताएको छ कि मतदान शुरु हुनुभन्दा ४८ घण्टा पहिले चुनाव प्रचार प्रसारमा रोक लगाइए पनि फेसबुक र ट्वीटरबाट भने चुनाब प्रचार जारी रहन्छ ।
नेपालमा अनुसन्धान हुनै बाँकी
नेपालमा पनि फेसबुक लगायतका सामाजिक सञ्जालका प्रयोगकर्ताहरु दिनानुदिन बढेका छन् । निर्वाचन आयोगले अन्य मिडियालाई आचारसंहिता लगाउन सक्ने भए पनि फेसबुकमाथि कुनै आचार संहिता लगाउने अवस्था देखिँदैन । यस्तो स्थितिमा फेसबुकमार्फत् अस्वस्थ चुनावी प्रतिश्पर्धा हुने अनुमान गर्न सकिन्छ । विशेषतः एकले अर्काको चरित्र हत्या गर्ने विषयमा चुनावमा फेसबुक लगायतका सामाजिक सञ्जालको दुरुपयोग हुने खतरा बढ्दोछ । निर्वाचन आयोगले यस विषयमा प्रभावकारी उपाय अवलम्बन गर्न सकेन भने नेपालको चुनावमा पनि सामाजिक सञ्जालको असर पर्ने देखिन्छ ।
फेसबुक प्रयोग गर्ने उमेद्वार र नगर्ने उमेद्वारको वीचमा पनि केही भिन्नता अवश्यै देखिन सक्छ । गगन थापालगायतका युवा नेताहरुले चुनावमा फेसबुकमार्फत् आफ्ना योजना पस्कने र विपक्षीको प्रतिवाद गर्न सक्ने सहजै अनुमान लगाउन सकिन्छ । पछिल्लो समय पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूमाथि लागेका आरोपहरुको खण्डन गर्ने क्रममा सामाजिक सञ्जालको प्रयोग गर्नुभएको थियो । आगामी चुनावमा नेपाली नेताहरुले यसैगरी फेसबुक र ट्वीटरलाई भोट माग्ने भाँडो बनाउनेमा शंका छैन ।
विगत संविधानसभाको चुनावमा फेसबुकको प्रभाव नेपालमा न्यून थियो । त्यसबेला ट्वीटर प्रयोगकर्ता पनि थिएनन् । यसपटकको चुनावमा भने भारतमा जस्तै नेपालमा पनि यसको प्रभाव प्रशस्तै पर्ने छ भन्ने प्रमाण हो, चुनावको मिति नतोकिँदै नेताहरुको फेसबुक-चुनाव प्रचार । चुनाव प्रचारका साथै फेसबुकमा विपक्षी दलका नेताहरुको जथाभावी तस्वीर गाँसेर बदख्वाइँ गर्ने क्रम पनि चुनावको मुखमा ह्वात्तै बढेको छ ।