चोरी गर्दागर्दै एक प्रहरी जवान रंगेहात पक्राउ


रौतहट,बैशाख १५ । रौतहटको सदरमुकाम गौरमा दिनैजसो ट्रयाक्टरको ब्याट्री चोरी हुन थालेपछि नगरपालिकाको टिकुलियाबाट ब्याट्री चोरी गर्दागर्दै एक प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी रौतहटमा कार्यरत प्रहरी जवान किशोरी यादव टिकुलियाको शम्भु यादवको सडक छेउमा रोकिइराखिएको ट्रयाक्टरको ब्याट्री चोरेर लैजान खोज्दा गस्ती टोलीले रंगेहात पक्राउ गरेको हो । नियमित गस्तीको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयको टोलीले शनिबार बिहान तीनबजे ब्याट्रीसहित पक्राउ गरेको हो । चोरी गर्दागर्दै पक्राउ परेका जवान यादव शुक्रबार वीरेन्द्र प्रहरी अस्पतालमा उपचार गराउने भनेर छुटी लिएको प्रहरीस्रोतले जनाएको छ । उपचारको बहाना बनाई चोरी गर्दागर्दै पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ परेका जवान यादवले प्रहरी संगठनलाई बदनाम बनाउने कार्य गरेकोले नियमानुसार कार्यवाही गरिने प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभएको छ ।