नयाँ सालमा बिहे गर्नेलाई रोजी-रोजी लगन

२४ फागुन, काठमाडौं । फागुनमा विवाहको लगन नभएकाले विवाहको सुरसार गरेर बसेका धेरैलाई बैशाखसम्म कुर्नुपर्ने अवस्था आएको छ । हुन त लगनबिना विवाह गर्ने चलन पनि छ । तर, लगनबिनाको विवाह फाप्दैन भन्नेहरुले लगन नै पर्खन्छन् । यसरी लगन नै पर्खेर बस्नुभएको छ भने ढुक्क हुनुहोस्, बैशाखपछि तपाईंलाई विवाहका लागि रोजी-रोजी प्रशस्त लगन मिल्ने भएको छ ।





यसवर्ष अर्थात ०६९ सालमा शुक्र अस्तका कारण जेठ र फागुनमा विवाहको लगन थिएन । विवाहको लगन भएका बैशाख, असार, मंसिर र माघमा पनि थोरै मात्र लगन थिए । बैशाखमा १ दिन, असारमा ४ दिन, मंसिरमा ५ दिन र माघमा १० दिन मात्र लगन हुँदा धेरैतिरको विवाह एकैदिन पर्यो । जसका कारण विवाह गराउने पुरोहित मात्र होइन, निम्ता मान्नेहरु पनि कसकोमा जाने, कसकोमा नजाने भनेर हैरान भए । आउँदो वर्ष विवाह हुने ६ वटै महिनामा प्रशस्त लगन जुरेका छन् । ०६९ सालमा जम्मा २० दिन मात्रै लगन थियो । तर, ०७० सालमा भने विवाहको लागि ५२ वटा दिन जुरेका छन् । यसबाहेक दशैंको टीका र श्रीपञ्चमीको दिन लगन नभएपनि विवाह गर्ने चलन छ ।