माओवादीसहित ३३ दलद्वारा बन्दसहितको आन्दोलन घोषणा

११ चैत, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत नेकपा-माओवादीसहितका ३३ दलले नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । माओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको ३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको आन्दोलनको घोषणा गरेको हो ।



घोषित कार्यक्रम अनुसार १५ गते मुख्य शहरहरुमा कोणसभा गर्ने, १६, १७ र १८ गते भित्ते लेखन तथा प्रचार प्रसार, १९ गते, ठूला शहरहरुमा विरोध सभा गर्ने र २० गते विहान ९ देखि ११ बजे काठमाडौंमा सिहदरवार र जिल्लामा प्रशासन कार्यालय घेराउ गर्ने छ ।



यस्तै २१ गते कालोझण्डासहित मोटरसाइकल र्‍याली जिकाल्ने, २२ गते कोणसभा र २५ गते नेपाल बन्द गर्ने ३३ दलले घोषणा गरेका छन् । ‘वर्तमान सरकार खारेज गरेर दलहरुकै नेतृत्वमा सरकार गठन गर्नु पर्छ भन्नेमा हामी सबैको सहमति हो’ क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरसँग भन्नुभयो ।



बैठकमा सरकारविरुद्ध आन्दोलनरत अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेस जनअधिकार फोरम भने अनुपस्थित थियो । संयुक्त आन्दोलन गर्ने भनेपछि पार्टीमा निर्णय भइनसकेकाले दुई दलका नेताहरु नआएको थापाले जानकारी दिनुभयो ।