द्वन्द्वकालमा जागरि गुमाउनेको संख्या ४६ हजार ४ सय ९० !

२० फागुन, काठमाण्डौं । दस बर्षे सशस्त्र द्वन्द्वका समयमा जागिर छाडेर चारवटै सुरक्षा निकाय तथा निजामती गरी कर्मचारीको संख्या ४६ हजार ४ सय ९० रहेको शान्ति तथा पुननिर्माण मन्त्रालयले जनाएको छ ।



म्ाओवादीको सशस्त्र युद्धका समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग तथा निजामती सेवामा जागिर छोड्नेको उक्त संख्या पहिचान भएको हो । कतिपय सुरक्षाकर्मीहरु हतियारसहति माओवादीमा सामेल भएका थिए । मुलुकमा शान्ति स्थापना भएपछि उनीहरुले ससम्मान जागिरमा पुनर्वहालीको माग राख्दै आन्दोलन गर्दै आएको खबर हिमालय टाइम्सले छापेको छ ।



बारम्बार आन्दोलन गरेपछि द्वन्द्वलाई कारण बनाएर जागिर छोडेकाहरुको वास्तविक समस्या पहचिान गर्न र उनीहरुको संख्या पत्ता लगाउन सरकारले गत पुसमा शान्ति तथा पुननिर्माण मन्त्रालयका सहसचिव साधुराम सापकोटाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा रक्षा मन्त्रालयका सचिव द्वारिकाप्रसाद आचार्य, गृहमन्त्रालयका सचिव मुरारीप्रसाद शर्मा र सामान्य मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद गुरागाई सहभागी थिए ।



मन्त्रालय निकट श्रोतका अनुसार जागिर छोडेका अधिकांश सुरक्षाकर्मी आफूसँग भएको हतियारसहित माओवादीमा गएका थिए । नेपाली सेनामा भगौडा भनिने त्यस्ता सैनिकलाई सर्वस्वसहित जन्मकैद हुने व्यवस्था सैनिक ऐनमा रहेको छ ।