‘५ हजार ऋण नपाउँदा हत्या’

५ हजार रुपैयाँ ऋण नदिएको झोकमा एकै परिवारका तीन जनाको हत्या गरेको जलजला २ का सलबहादुर गुरुङले स्विकारेका छन् । उनले तीन सताअघि संखुवासभाको जलजलास्थित तेर्सेमा एकै परिवारका तीन जनाको हत्या गरेका थिए । आरोपीलाई प्रहरीले शनिबार चैनपुरमा सार्वजनिक गरेको छ । २९ वर्षीय गुरुङ सोही स्थानका बासिन्दा हुन् । विशेष सुराकीका आधारमा गुरुङको घरका छापा मार्दा प्रहरीले रगत लतपतिएको ट्राउजर, भेस्ट र खुर्पा बरामद गरेको थियो ।



इलाका प्रहरी कार्यालय, चैनपुरबाट खटिएको प्रहरी टोलीले गुरुङलाई सुनसरीको धरानबाट पक्राउ गरेको थियो । गत फागुन १४ गते राति घरमा रहेका ६२ वर्षीया लक्बुटी शेर्पा, १५ वर्षका नाति दावा र ९ वर्षकी नातिनी अप्सराको घाँटी रेटी हत्या गरी गुरुङ फरार भएका थिए । उनीहरू तीनै जनाको हत्या आफैंले गरेको गुरुङले स्विकारेका छन् । प्रहरीका अनुसार अभियुक्त गुरुङ घटनाको केही दिनअघि मृतक लक्बुटीकोमा ५ हजार रुपैयाँ ऋण माग्न गएका थिए । ऋण नदिएपछि पैसा चोर्ने सोचले शेर्पाको घर पुगेर हत्या गरेको बयान दिएका छन् । ‘रातको समयमा शेर्पाको घरभित्र पसेँ, घरभित्र पसेको थाहा पाएपछि शेर्पा परिवार निन्द्राबाट ब्युझिए,’ उनले भने, ‘घटनाको पोल खुल्ने डरले मैले सबैको हत्या गरेको हुँ ।’

हत्यापछि उनले १ लाख नगद र सुनका केही गहनासमेत लगेको बताए । लुटेको रकम लगेर ऋण तिरेको उनले बताए । ऋण तिर्ने पैसा नभएपछि अपराध गरेको उनको भनाइ छ । प्रहरी कार्यालय आइपुगेका उनका बाबु मनबहादुरले छोराले अपराध गरेकाले कानुनमा तोकिएअनुसार सजाय हुनुपर्ने बताए । दोष प्रमाणित भए गुरुङलाई सर्वस्व सहित जन्मकैद हुने अधिवक्ता नयन्द्र गौतमले बताए ।