अमेरिकाद्वारा रेग्मीलाई बधाइ

१ चैत, काठमाडौं । संयुक्त राज्य अमेरिकाले खिलराज रेग्मीलाई बधाइ दिएको छ । नेपालको अन्तरिम परिषद गठनलाई ‘चुनावतर्फको यात्रा’ बताउँदै यो जटिल एवं चुनौतीपूर्ण प्रक्रियामा सहमति भएकोमा दलहरुलाई समेत अमेरिकाले बधाइ दिएको छ ।’संयुक्त राज्य अमेरिका राष्ट्रिय चुनावको जिम्मेवारी बहन गर्ने गरी नयाँ अन्तरिम परिषद् गठनको विषयमा भएको सहमतिका लागि नेपाली जनतालाई बधाई दिन चाहन्छ ।’ नेपालस्थित अमेरिकी दूताबासबाट जारी विज्ञप्तिमा भनिएको छ-’यो एक जटिल र चुनौतीपूर्ण प्रक्रिया थियो । राजनीतिक दलहरूले यस महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल गर्ने क्रममा सम्झौताहरू गर्न देखाउनुभएको तत्परताको हामी कदर गर्दछौं ।’


अमेरिकी दूताबासबाट जारी विज्ञप्तिमा अन्तरिम चुनावी मन्त्रिपरिषद्को गठनले नेपालको नयाँ संविधान लेख्ने काम सम्पन्न गर्ने र नेपाली जनताको आकांक्षाको प्रतिनिधित्व गर्ने गरी आगामी असारमा स्वतन्त्र, निष्पक्ष र समावेशी राष्ट्रिय निर्वाचनको कार्य सम्पन्न गर्ने जस्ता महत्वपूर्ण कार्यहरूको लागि जग बसाल्ने बतायएको छ । साथै विगतमा झैं अमेरिका निर्वाचनमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताइको छ ।

‘नेपालको राजनीतिक नेतृत्व राजनीतिक र शासकीय विषयहरूको निरुपण गर्ने तर्फ क्रियाशील रहँदै गर्दा अमेरिका सम्पूर्ण जनताको अधिकारहरूको संरक्षण तथा लोकतान्त्रिक, समावेशी र सम्मृद्ध नेपाल निर्माणको राष्ट्रिय प्रतिबद्धतालाई जोड दिनेसम्बन्धमा दलहरूले हासिल गर्ने प्रगतिको स्वागत गर्दछ ।’ दूताबासको विज्ञप्तिमा भनिएको छ ।