एमाओवादीका मधेसी नेता पार्टी छोड्ने तयारीमा

१३ चैत, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका मधेसी नेताहरुले छुट्टै पार्टी गठनका लागि अन्तिम चरणको गृहकार्य सुरु गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले आफूहरुको माग सुनुवाई नगरेको ठहर गर्दै एमाओवादी परित्याग गरी नयाँ पार्टी गठनमा उनीहरु जुटेका हुन् ।



एमाओवादीबाट बिद्रोह गरी नयाँ पार्टी गठन गर्ने निर्णयमा पुगेका मधेसी नेताहरुको नेतृत्वमा उपाध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री बाबराम भट्टराईनिकट नेता प्रभू साहले गर्ने भएका छन् । प्रधानमन्त्री रहेका बेला भट्टराईका प्रेस सल्लाहकार रहेका नेता रामरिझन यादबको निवासमा केही दिनअघि बसेको गोप्य बैंठकले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।



उनका अनुसार सोही बैठकले साहको नेतृत्वमा मधेस कम्युनिष्ट पार्टी गठन गर्ने निर्णय गरेको हो । बैठकमा प्रभु साह, भरत साह, रामरिझन यादब, रामकुमार शर्मा, विश्वनाथ साह, रामकुमार यादबलगायतका मधेसी नेता सहभागी थिए ।



सोही बैठकको निर्णय अनुसार एमाओवादीका सवै मधेसी नेताहरुले पार्टीबाट बिद्रोह गरी नयाँ पार्टी गठन गर्न लागेको स्रोतको भनाई छ । ‘नेतृत्वले तत्काल हाम्रो माग सम्बोधन नगरे प्रभुजी को नेतृत्वमा केही दिनमै मधेस केन्द्रीत मधेश कम्युनिष्ट पार्टी गठन हुन्छ,’ एमाओवादीमा बिद्रोहमा लागेका एक मधेसी नेताले भने