परिवारका सबैलाई अनिवार्य रुपमा साक्षर नबनाए शिक्षकको बढुवा रोकिने

३० फागुन, काठमाण्डौं । के तपाई सामुदायिक विद्यालयको शिक्षक हुनुहुन्छ ? यदि, हुनुहुन्छ भने अब तपाईको परिवारका सबै सदस्य अनिवार्य रुपमा साक्षर हुँनै पर्ने भएको छ । कथंकदाचित त्यसमा चुक्नुभयो र परिवारका कोही निरक्षर फेला परे भने तपाईको बढुवामै असर पर्ने छ ।



शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको घर परिवारका सबै सदस्यलाई आगामी बर्षभित्रै साक्षर पार्ने उद्देश्यले यो नियम अघि सारेको हो । मन्त्रालयले शिक्षा विभागमार्फत ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई शिक्षकको परिवार अनिवार्य रुपमा साक्षर गराउन निर्देशन दिने योजना पनि बनाएको बुधबारको राजधानी दैनिकमा खबर छ ।

आगामी बर्षभित्रै सामुदायिक विद्यालयका कुनै शिक्षकले आफ्नो परिवारका सबै सदस्यलाई साक्षर बनाउन नसके त्यस्ता शिक्षकको कार्य सम्पादन मूल्यांकन प्रक्रिया अगाडी नबढाउने मन्त्रालयको भनाई छ । कार्यसम्पादन मूल्यांक फाराम नभरिँदा शिक्षकको बढुवालगायत वृत्तिविकासमै असर पर्छ । मुलुकभरका करिब ३३ हजार सामुदायिक विदालयमा १ लाख ५० हजारभन्दा बढी विभिन्न तहका शिक्षक कार्यरत छन् ।

सरकारी तथ्यांक अनुसार नेपालमा हरेक बर्ष १ दशमलव १८ प्रतिशतका दरले साक्षरता वृद्धि भएको देखाएको छ । १० बर्षको अवधिमा नेपालमा साक्षरता दर ११ दशमलब ८ प्रतिशत वृद्धि भएको हो ।onlinekhabar