मधेशीदलको बन्दले आज पनि देशभरको जनजीवन प्रभावित

२४ फागुन, काठमाण्डौं । उपेन्द्र यादब नेतृत्वका संघीय लोकतान्त्रिक मोर्चाले गरेको बन्दका कारण आज पनि देशभरको जनजीवन प्रभावित बनेको छ । नेकपा-माओवादी नेतृत्वमा रहेको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले बुधबार गरेको बन्दसाँझदेखि खुले पनि आज लगत्तै भएको बन्दका कारण नागरिकहरुलाई थप सास्ती परेको छ ।



बन्दका कारण मुख्य सहर तथा राजमार्गमा सवारीका साधन चलेका छैनन् भने राजधानीका सडकहरुमा पनि सार्वजनिक यातायातका साधन गुड्न सकेका छैनन् ।

राजनीतिक निकास निकाल्ने बहानामा चारदलले मनोमानी गरेको, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने भन्दै आज बन्द आव्हान गरेको मोर्चाले जनाएको छ ।

बन्दले गाडी नचल्दा विशेष कामले टाढा पुग्ने यात्रुहरु पैदल हिँड्न बाध्य भएका छन भने लगातारको बन्दका कारण परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई थप मार परेको छ ।

बन्दका बेला हुनसक्ने घटनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था भने मजबुद बनाइएको छ । सहरका चोक चोकमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ रहेका छन् ।

कार्यकर्ता पक्राउ परेकोमा आपत्ति
शान्तिपूर्ण प्रर्दशन गरिरहेका आफ्ना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै राष्ट्रिय मधेश समाजवादी पाटीले आपत्ति जनाएको छ । सो पार्टीले आज एक विज्ञप्ति जारी गर्दे छिटोभन्दाछिटो संविधानसभाको स्वतन्त्र, निष्पक्ष तथा तटस्थ निर्वाचन एवं अबिलम्ब चुनावी सरकार गठन गर्न दवाब दिने उद्देेश्यले आव्हान गरेको नेपाल बन्दको क्रममा शान्तिपूर्ण प्रदर्शन गरिरहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका तीन दर्जनभन्दा बढी कार्यकर्ताहरुलाई नयाँबानेश्वर, कोटेश्वर र कमलपोखरी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो ।

पार्टीका अनिलकुमार कर्णद्धारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ-शान्तिपूर्ण प्रदर्शनमा बन्देज लगाइ आन्दोलनलाई तुहाउने गृह प्रशासनको कायरतापूर्ण कार्यको हामी घोर निन्दा गर्दछौं । पार्टीले पक्राउ परेकाहरुलाई यथाशिघ्र रिहा गर्न माग पनि गरेको छ ।