वकिलद्वारा गर्भवती श्रीमती घरनिकाला

नेपालगन्ज , फाल्गुन १४, एक कानुन व्यवसायीले पाँच महिनाकी गर्भवती श्रीमतीलाई कुटपिट गर्दै घरबाट निकाला गरेका छन् । अधिवक्ता राजेन्द्र शर्माले २५ वर्षीया गीता पोखरेललाई यातनासमेत दिएका थिए । माघ १९ गते राति घरबाट निकालिएकी गीता २२ दिनदेखि जेठाजु अनुप शर्माको घरमा बस्दै आएकी छन् । ‘घर गए मार्ने हुन् कि भन्ने डर छ । त्यसैले जेठाजुकोमा शरण लिएको छु,’ उनले भनिन् ।



शर्माले स्वतन्त्रता नदिने, नचाहिँदो शंका गर्ने र शारीरिक तथा मानसिक यातना दिने गरेको गीताको आरोप छ । यातनाबारे कसैलाई जानकारी दिए सम्बन्धविच्छेद गर्ने धम्की दिएकाले दुई वर्षसम्म चुप लागेर बसेको उनले बताइन् । श्रीमान्ले पाँच महिनाको गर्भपतन गर्नसमेत दबाब दिने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘बेड रेस्ट गर्नुपर्ने बेला घरबाटै निस्कने स्थिति बनाए ।’ पोखरेलले आइतबार श्रीमान्विरुद्व महिला तथा बालबालिका कार्यालय, महिला प्रहरी सेल र जिल्ला बार एसोसिएसनमा उजुरी गरेकी



छन् । दुई वर्षसम्म यातना सहेर बसेको उनले बताइन् । पोखरेल र शर्मा दुवैले दोस्रो बिहे गरेका हुन् । ६ वर्षअघि प्यूठान बस दुर्घटनामा श्रीमान्को मृत्युपछि पोखरेल नेपालगन्ज आएर शर्माका घरमा डेरा लिएर बसेकी थिइन् ।



पोखरेलले बर्दिया र प्यूठानमा रहेको आफ्नो जग्गा बिक्री गरेको ३३ लाख शर्माले राखेको बताइन् । ‘मेरो नामको जग्गा बेचेर ३३ लाखमा आफंैले राखे । मसँग गर्भको बच्चाबाहेक केही बाँकी रहेन,’ पोखरेलले भनिन्, ‘विश्वास गर्दा धोका पाइयो । मेरो सम्पत्ति खान विवाहको नाटक गरेको रहेछ ।’ शर्माले भने श्रीमतीसँग कुनै विवाद नभएको दाबी गरे । गलत व्यक्तिको बहकाउमा लागेर आफूविरुद्ध गलत प्रचार गरेको उनले बताए।