साँझ सम्ममा घुँडा धसेर भए पनि सहमती गर्छौँ : खनाल
३ फागुन, पोखरा । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आज साँझसम्ममा घुँडा धसेर सहमति गर्ने दाबी गर्नुभएको छ । पोखरामा आजदेखि सुरु भएको मेचिमहाकाली मिडिया सोसाइटीको तेस्रो महाधिवेसनलाई टेलिफोनबाट उद्घाटन गर्दै अध्यक्ष खनालले दलहरुबीच सबै विकल्पमा छलफल जारी रहेकाले आज साँझ सम्ममा सहमति जुट्नेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।
टेलिफोनबाट कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष खनालले भन्नुभयो-’हामी गम्भिर छलफलमा जुटेका छौ, दलहरुबीच सबै विकल्प खुल्ला राखेर छलफल भइरहेको छ, आज साँझ सम्ममा घुँडा धसेर, त्याग, गरेर, तपस्या गरेर भएपनि सहमति निकाली छाड्छौं ।’ अध्यक्ष खनालले राष्ट्रपतिसँगको छलफलमा शीलत निवासमा भएकाले बैठक स्थलबाटै टेलिफोन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
राजधानी बाहिरका ३९ जिल्लाका सय भन्दाबढी सञ्चारकर्मी सहभागी मेचिमहाकाली मिडिया सोसाइटीको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । कार्यक्रमका अवसरमा टंकादेवी तुलसीपुर सात कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका इश्वरी न्यौपानेलाई प्रदान गरिएको छ ।