दुईमा पढ्दै पहिलो प्रेम – प्रशान्त तामाङ

प्रशान्त तामाङ यतिबेलाका व्यस्त सेलिब्रेटी हुन् । गायन, अभिनय र कन्सर्टहरुमा उनलाई भ्याईनभ्याई छ । एउटा सांगीतिक कार्यक्रमका लागि हालै उनी केही घन्टाका लागि मात्रै कोरिया आएका थिए । उनको कथा उनकै शब्दमा : मेरो पुख्र्यौली काठमाडौंको भोटेबहाल भए पनि बराजु दार्जिलिङ बसाइँ जानुभएकाले बाजे उतै जन्मनुभयो । मेरो जन्म १९८३ जनवरी ४ मा रूपा र मदन तामाङको कान्छो सन्तानको रूपमा भएको थियो । दुईजना दिदी हुनुहुन्छ । हाम्रो परिवार उता रहे पनि दाजुभाइ भोटेबहालमा अझै छन् । सानो छँदै आमासँग नेपाल आएको थिएँ । प्राकृतिक दृश्य हेरेर म ज्यादै हषिर्त हुन्थंे । लाहुरे चलचित्रको दृश्यमा साह्रै मोहित भएको पनि थिएँ ।







दार्जिलिङकै सेन्ट्रल रबट्र्समा माध्यमिक तहसम्म पढें । म पढिरहेकै बेला बुबाको असामयिक निधन भयो । उहाँ भारतीय प्रहरीमा हुनुहुन्थ्यो । अत्यन्त दुःखी भएँ । बुबाको निधनपछि नोकरी दिदीले गर्नुपर्ने प्रस्ताव आएको थियो, तर उहाँ बिहे भएर जानुपर्ने भएकोले नोकरीमा मै जानुपर्ने भयो । सानै भएकोले १८ वर्ष पुगेपछि -सन् २००२ मा) भर्ती भएँ । त्यसपछि लगातार सेवारत छु । कन्सटेबल दर्जामै छु अझै, १२ वर्षमा पनि बढुवा भएको छैन । सांगीतिक र अभिनय यात्रालाई भने पूर्ण रूपले सहयोग मिलेको छ अफिसबाट । सानैदेखि विद्यालयमा हुने कार्यक्रममा गाउँथें । कक्षा ५ पढ्दा ‘सपना सपना…’ गीत पहिलो पटक गाएर प्रथम भएँ । त्यसपछि सबै गायन प्रतियोगितामा मै प्रथम भएँ । आमालाई म गाउँछु भन्ने थाहा थिएन, प्रथम हुन थालेपछि मात्रै थाहा भयो । बिस्तारै दार्जिलिङका स्टेजमा पनि जम्दै गएँ । त्यस्तोमा रामकृष्ण ढकाल र दार्जिलिङकै गायक सुरेश कुमारका गीत गाउँथें ।प्रहरी सेवामा जानुअघिसम्म हिन्दी गाएको थ्ािइनँ । त्यहाँ ब्यान्डमा संलग्न भएर गीतसंगीतका धेरै ज्ञान र संगत पाएँ ।



नोकरीकै क्रममा म कोलकाता थिएँ । २००७ मेमा इन्डियन आइडलका लागि अडिसन हँुदै छ भनेर विज्ञापन पढें । इन्डियन आइडलबारे खासै चासो त थिएन, तर ब्यान्डकै एकजना साथीले कर गरेकोले अडिसनमा गएँ । फाइनल मैले नै जितें । संसारभर रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको आर्थिक, प्राविधिक र सबै प्रकारको सहयोग सम्भिmँदा म अहिले पनि भावुक हुन्छु ।



म नै छानिन्छु जस्तो त लागेको थिएन, उद्घोषकले मेरै नाम लिँदा म त नर्भस भएँछु । त्यस्तो बेला दिमाग शून्य हुँदो रहेछ । बलिउडको कलाकारले हात समातेर बधाई दिइरहेका थिए, सारा मान्छे कराइरहेका थिए, सयौं क्यामेराले तस्बिर लिइरहेका थिए । त्यो क्षण अहिले पनि सपनाजस्तै लाग्छ ।



फिल्म यात्राको जसचाहिँ राजेश वंशललाई जान्छ । सन् २००९ को कुनै एक महिना म घरमै बसिरहेको थिएँ, उहाँले फोन गरेर ‘गोर्खा पल्टन’ फिल्मबारे प्रस्ताव राख्नुभो । मेरो जीवनीसँग मिल्दोजुल्दो कथावस्तु छ भन्नुभएको थियो । नेपाल आएपछि कथावस्तु हेरें । कतिपय विषय मेरो जीवनीसँग मिल्ने पनि रहेछ । तर अभिनय ज्ञान भने थिएन । निर्देशक नारायण रायमाझीले ठूलो सहयोग गर्नुभो । यस चलचित्रको टिमको सदासयताबाट सुरु भएको मेरो अभिनय यात्रा हालसम्म जारी छ । भर्खरै ‘निसानी’ सकाएँ, कारगिलको युद्धमा गोर्खा सैनिकको भूमिकाको कथा हो ।



गायक, अभिनेता र प्रहरी तीन क्षेत्रमा संलग्न भएकोले समयको संयोजन गर्न निकै कठिन भएको छ । बिहे गरेकोले श्रीमान्को कर्त्ाव्य पनि छ मसँग । बिहेपछि श्रीमतीको साथले धेरै कुरामा सहज भएको छ । उनी कूटनीति जान्दिनन् । स्ट्रेट फरर्वार्ड छिन् । यो बानी मलाई एकदम राम्रो लाग्छ । उनी मेरो पहिलो प्रेमिका त होइनन् तर अन्तिम चाहिँ हुन् । पहिलो प्रेम हुँदा म दुई कक्षा पढ्दै थिएँ । तिनको सम्झना बेलाबेला आउँछ । अहिले दुबईमा छिन् रे । हामी दुवै सानै थियौं, एक दिन भागौं भनेर सल्लाह गर्‍यौं र घरदेखि ओरालैओरालो भागिरहेका थियौं । गाउँको दूधवाला दाइले देखेर आमालाई सुनाउनुभएछ । लट्ठी लिएर आमा दौडिँदै आउनुभयो र हिर्काउँदै फर्काउनुभएको थियो ।



पछि उनी -श्रीमती) सँग चिनजान भयो र बिहेसम्म पुग्यौं । विदेश यात्रामा सपिङ मल र सुन्दर प्राकृतिक दृश्य भएको स्थानमा हुँदा श्रीमतीको याद आउँछ । व्यस्तताले गर्दा राम्ररी हनिमुन मनाउन पनि पाएनौं । मुस्ताङमा हामीले मनाएको हनिमुनलाई धेरै शुभेच्छुकहरूले सकारात्मक मान्नुभएको थियो । त्यहाँ म छायांकन क्रममा थिएँ ।



हिन्दीको तुलनामा नेपाली चलचित्रमा प्राविधिक पक्ष केही कमजोर देखिए पनि नयाँ कन्सेप्टसहित नयाँनयाँ निर्देशकहरूको आगमनले नेपाली चलचित्र आसलाग्दो भएको छ । बजार पनि फराकिलो हुँदै छ । तर सत्य के हो भने, चलचित्रमा नायक-नायिका, निर्माता निर्देशकले जति नै दुःख गरे पनि दर्शकको माया महत्त्वपूर्ण हुन्छ । दर्शक साँच्चिकै देउता रहेछन् ।