अदालतको कस्तो फैसला ? केटीसँग बोलेमा ५ वर्ष जेल सजाय !

बेलायतका एक जना पुरुषलाई १० वर्षसम्म महिलाहरुसँग बोल्न प्रतिबन्ध लागेको छ । एक अदालतले उनलाई नचिनेका महिलासँग सार्वजनिक स्थानमा बोल्न रोक लगाएको हो ।

डेभिड डेलाहन्टी नामका ती ५६ वर्षे पुरुषले एक युवतीलाई आफुले बलात्कार गर्न सफल भएको भनि दाबी गरेसँगै उनलाई यस्तो सजाय दिइएको हो । सार्वजनिक बसभित्र आफुले ती २० वर्षे युवतीलाई भेटेको, त्यसपछि उनलाई गालामा चुम्बन गरेको र करणी गरेको झुटो दाबी उनले गरेका थिए । उनको त्यस्तो झुटो दाबीका कारण ती युवतीको इज्जत र प्रतिष्ठामा दाग लागेको र उनलाई गम्भीर मानसिक असर परेको ठहर गर्दै अदालतले यौन तथा मानसिक हिंसाको आरोपमा उनीमाथि यस्तो अनौठो सजाय सुनायो ।

अदालती फैसलापछि अब उनले सार्वजनिक स्थानमा कुनै नचिनेका महिलालाई हेलो भनेर बोलाएमा मात्र पनि उनले ५ वर्ष जेलको हावा खानुपर्ने छ । तर इमर्जेन्सी परेको बेला भने उनलाई हल्का बोल्न छुट दिइनेछ ।

महिलासँग बोलचाल गर्न १० वर्षे प्रतिबन्ध सँगै ती पुरुषले ९ महिनाको जेल र १२० घण्टाको श्रम सजाय पनि पाएका छन् । साथै उनको नाम यौन अपराधीको सूचिमा समेत दर्ज गरिएको छ ।