पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी

माघ ३ – राजधानीमा बर्डफ्लू बिगबिगीपछि स्वाईनफ्लू समेत भेटिएको अवस्थामा कास्कीमा पनि बर्डफ्लू भेटिएको छ । कास्कीको पोखरा उपमहानगरपालिका तीन स्थान र सराङकोट गाविसको एक स्थानमा बर्डफ्लू भेटिएको हो ।क्षेत्रीय पशु सेवा निर्देशनालय पोखराले यस विषयमा जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

निर्देशनालयले पशु चिकित्सकसहितको रेपाईड रेस्पन्स टिम (आरआरटी) परिचालन गरी संक्रमण भेटिएका कुखुरापालन केन्द्रहरुलाई संक्रमण मुक्त बनाउने काम भईरहेको जानकारी दिएको छ । बाटुलेचौरमा ११० कुखरा, काउसेघारीमा ८ सय २८ र सिम्पानीमा एक सय पाँच कुखुरा नष्ट गरिएको छ । निर्देशनालयले गत माघ एक गते कास्कीमा वर्ड फ्लुको भेटिएको र बुधबार सेदीवगरबाहेक तीन स्थानमा कुखुरा नष्ट गर्नेलगायतका संक्रमण मुक्त बनाउने कार्य भईरहेको जानकारी दिएको छ । सेदी वगर पनि चाडै सो अभियान शुरु हुने जनाइएको छ । निर्देशनालयका निर्देशक डा. बंशी शर्माले जैविक सुरक्षा विधि प्रयोग गर्न र कुखुरामा केही विरामी देखिएका तुरुन्त सम्बन्धित निकायमा खवर गर्न आग्रह गरेका छन् । उनले कास्कीमा अन्यत्र यसको संक्रमण फैलने सम्भावना नरहेको जानकारी दिए । डा. वंशी शर्माले पोखराको काउसेघारी, सिम्पानी र बाटुलेचौर र सराङकोट गाविसको सेदी वगरमा एचफाइभ र एच नाईनको सम्मिश्रण भेटिएको जानकारी दिए । कास्कीमा व्यवसायिक र घरपालुवा गरी १० लाख कुखुरापालन भईरहेको अनुमान गरिएको छ ।