बालाजुमा भएको सवारी दुर्घटनामा सैनिकको मृत्यु

१८ माघ, काठमाण्डौं । काठमाण्डौंको बालाजुमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । काठमाण्डौंको गैरीधारामा रहेको माउन्ट स्कूलको बा १ क ४३३९ नम्बरको बस बालाजुमा पानीपोखरीमा अनियन्त्रित भई एउटा घरमा ठोक्किदा बाटोमा हिंडिरहेका दोलखा घर भएका नारायण खत्रीसहित ६ जना घाइते भएका थिए । साइकलमा यात्रारत खत्रीको भने उपचारका क्रममा जनमैत्री अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ३८ वर्षका खत्री नेपाली सैनिक हेडक्वाटरमा कार्यरत सैनिक जवान रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार रहेका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासीमा पनि एकको मृत्यु नवलपरासीको मकुन्दपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । बुटवलबाट नारायणगढ जाँदै गरेको ना ४ ख १४२६ नम्बरको मुकुन्दपुर ३ मा पैदलयात्रीलाई ठक्कर दिंदा नवलपरासीको मुकुन्दपुर ५ बस्ने सन्दीप अधिकारीको मृत्यु भएको हो । अधिकारीलाई उपचारका लागि भरतपुरतर्फ लैजाँदा बाटैमा मृत्यु भएको हो । घाइते पैदल यात्री सुजन कंडेलको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको गैडाकोट प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।