पत्रकार थापाको हत्या प्रकरणको अनुसन्धान नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,माघ ३ । सर्वोच्च अदालतले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको अनुसन्धान नरोक्न महान्यायाधिवक्ताको नाममा मंगलबार अन्तरिम आदेश जारी गरेको छ । महान्यायाधिवक्ता मुक्ति प्रधानले दैलेखस्थित सरकारी वकिल कार्यालय र प्रहरीलाई अभियुक्तको बयान प्रक्रिया रोक्न लिखित आदेश दिएपछि अधिबक्ता गोविन्द बन्दीले दिएको रिटमा न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले अनुसन्धान नरोक्न उत्प्रेषणयुक्त परमादेश जारी गरेको हो । सर्वोच्चले अनुसन्धानमा बाधा नगर्न, नगराउन र अनुसन्धानमा बाधा सिर्जना गर्ने काम भए अदालतमा प्रतिबेदन पेश गर्न र नेपाल सरकारलाई हत्या अभियोगको छानविनमा जिम्मेवारीपूर्वक सहयोग गर्न पनि आदेश गरेको छ । सर्वोच्चले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ । दैलेख प्रहरीले ८ बर्षअघि पत्रकार थापाको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका लक्षीराम घर्ती लगायतका आरोपीहरुले प्रहरीलाई दिएको बयानमा पत्रकार थापालाई जिउंदै गाडेकोमा अपराध स्वीकार गरी साविति बयान दिईसकेका छन् । प्रधानले पक्राउ परेका अभियुक्तहरुको बयान नलिन र अनुसन्धान प्रक्रिया रोक्न जिल्ला सरकारी वकिल कार्यालय दैलेखलाई लिखित निर्देशन दिनुभएपछि देशैभर त्यसको तीब्र विरोध भएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईले थापाको हत्या प्रकरणमा अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउनु शान्ति प्रक्रियाको विरोधमा हुने भन्दै कारबाही रोक्न प्रहरी प्रशासनलाई दबाब दिनुभएको थियो । नेपाल पत्रकार महासंघलगायतका संचार सम्बद्ध संस्थाहरुले थापाका हत्याराहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काईरहेको बेला सर्वोच्चको आदेशले दोषीलाई कानुनको कठघरामा ल्याउन बल पुगेको छ ।