मानव रगतको पनि कालोबजारी

१७ माघ, काठमाण्डौं । रगतको कुनै मूल्य हुँदैन्, जसलाई किन्न सकियोस् । तर काठमाण्डौं लगायत देशका मुख्य सहरमा अमूल्य रगतको खलेआम कालोबजारी हुने गरेको छ । देशभर हरेक दिन भइरहने रक्तदान कार्यक्रममा संकलित रगत सीमित दलालले खरिद गरी बोलकबोलमा बेच्ने गरेका छन् ।

काठमाण्डौंका निजी तथा सरकारी अस्पतालका कर्मचारी र केन्द्रीय रक्तसञ्चार केन्द्र परिसरमा बस्ने दलालले बिरामीको बाध्यताको फाइदा उठाउँदै आफन्तसँग एक पोका रगतको २ हजारदेखि ५ हजार रुपैयाँसम्म लिने गरेका छन् । पैसा तिर्न नसक्नेले आफैंले रक्तदाता खोजेर रगत पूर्ति गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा शीघ्र रगत चाहिने बिरामीको मृत्यु पनि हुन सक्ने कारोबार दैनिकमा खबर छ । रगतको किनबेच हुँदा मानवीयतामा ह्रास आउने देखेर सरकारले तीन दशकअघि २०३८ सालमै मानव रगत किनबेचमा प्रतिबन्ध लगाएको छ ।