चुनावको बेलामात्रै चम्किने ‘एक बाम – एक ठाम’ नेतृत्व मारमुङ्ग्रीमा रहँदा तल्लो तहमा सहकार्य

११ माघ, काठमाडौं । कम्युनिष्ट नेताहरु कुनै कार्यक्रममा सँगै उपस्थित भए भने त्यहाँ ‘एक बाम एक ठाम’को खुब चर्चा चल्छ । बाम पार्टीहरुबीच न्युनतम एजेण्डामा सहकार्य हुनुपर्छ भन्ने कुरा अरु बेला पनि उठ्ने गर्छ । चुनावका बेला कतिपय ठाउँमा तालमेल पनि हुन्छ । तर, धेरैपटक कम्युनिष्टहरु जुटमा भन्दा फुटमा नै रमाउँछन् । यतिबेला सत्ता र सडक दुईतिर बाँडिएका दलहरुको अग्रपंक्तिमा बामपन्थीहरुकै हालिमुहाली छ । सरकारको नेतृत्वमा एकीकृत नेकपा माओवादी छ । विपक्षीमा एमाले, नेकपा-माओवादी लगायतका बामपन्थीहरु नै धेरै छन् । सत्तापक्ष र विपक्षमा बाँडिएका उनीहरु अब ज्यान फालेर एकअर्कालाई पछार्ने दाउमा लागेका छन् । तर मारमुङ्ग्री गर्ने यिनै बामपन्थी दल नजिकका संघसंगठन चाहिँ सहकार्य र मोर्चाबन्दीमा छन् । कोही चुनावको बेला एक ठाउँमा उभिन्छन् । कोही अहिलेदेखि नै साझा अभियानमा जोड दिन्छन् । सधैं मिल्नेभन्दा चुनावको बेलामा मात्रै एक ठाम हुने बामप्रवृत्ति बढी देखिन्छ । चुनावमा मिल्ने पेशागत संगठन पेशागत तथा बुद्धिजीवि संगठनमा दरिलो मानिने नेपाल बार एशोशियसनको चुनावमा यसपटक बामपन्थीहरुबीच तालमेल भयो । महासचिव लगायतका अधिकाँश पदमा नसकेपनि अध्यक्ष र उपाध्यक्षलगायतका महत्वपूर्ण पदमा बामपन्थीहरुकै पल्लाभारी भयो । पोहोर फुटेर लड्दा पराजय हुन परेपछि झल्याँस्स भएका बामपन्थी वकिलहरु यसपटक एकजुट भएका हुन् । कानुन व्यवसायीहरुको छाता संगठन मात्रै होइन, अर्को अग्रणी पेशागत संगठन नेपाल पत्रकार महासंघको पछिल्लो कार्यकाल पनि बामपन्थीहरुकै हातमा छ । यसपटकको चुनावमा बामपन्थी पत्रकारहरु एकजुट भएपछि पत्रकार महासंघमा पहिलोपटक प्रगतिशिल नेतृत्व आएको हो । बामपन्थी वकिल र पत्रकारहरु सधैं यसरी मिल्दैनन् । छुट्टाछुट्दै चुनाव लड्दा त्यसको सोझो फाइदा प्रजातान्त्रिक समूहलाई परिरहेको छ । तर बामपन्थी प्राध्यापकहरु भने हरेक चुनावमा एकताबद्ध भएपनि जित्न सकेका छैनन् । ‘यसपटक थोरै मत अन्तरले हामी पराजित भयौं, गठबन्धलाई अझै बलियो बनाउनुपर्छ भन्नेमा हामी सबैथरी एकमत छौं’ प्रगतिशिल प्राध्यापक संघका चिरञ्जीवि शर्माले भन्नुभयो । कलाकारहरुको साझा अभियान जनआन्दोलनको बेला जोशिला गीत गाउने प्रायः सबै कलाकार बामपन्थी हुन् । पहिले सँगै रहेका उनीहरु पार्टीको आकार ठूलो हुँदै जाँदा त्यही अनुसार बाँडिए । माओवादी, एमाले, माले, जनमोर्चा लगायतका बाम पार्टी नजिकका कलाकारहरुका छुट्टाछुट्टै संगठन छन् । आन्दोलनको बेला एउटै स्वरमा जागरण ल्याउने उनीहरु अरु बेला पार्टीको कार्यक्रममा मात्र खुम्चिने गर्छन् । तर अहिले बाम पार्टीका कलाकारहरुले साझा अभियान थालेका छन् । ‘संविधानसभा चुनावपछि कम्युनिष्ट नेतृत्वकै सरकार बनेको छ, तर जनवादी गीतसंगीतले फस्टाउन पाएको छैन’ जनसंस्कृति नेपालका अगुवा मणि थापाले भन्नुभयो-’जनवादी गीत संगीतलाई अघि बढाउन बामपन्थी धारका कलाकार एकजुट हुनुपर्छ भनेर हामीले अभियान थालेका हौं ।’ छिन्नभिन्न भएका कलाकारहरु साझा अभियानमा जुटिसक्दा पनि लेखकहरु भने अझै अलमलमा छन् । पहिले प्रगतिशिल लेखक संघको एउटै छातामा अटाएका बामपन्थी लेखकहरु अहिले आआफ्नै पार्टीको बाटो समातेर छरिएका छन् । ‘आआफ्नै तरीकाले लाग्दा संगठन दरिलो हुन सकेको छैन’ संघका सदस्य ईश्वरचन्द्र ज्ञवालीले भन्नुभयो -’साझा संस्था धराशयी भएको छ, फेरि एकजुट हुनुपर्ने खाँचो छ ।’