भारतमा लिङ्ग पहिचान, नेपालमा गर्भपतन!!

११ माघ, जनकपुर । धनुषा यदुकुहाकी दुलारी सदायले जनकपुरको एक अस्पतालमा हालै दोस्रो पटक गर्भपतन गराइन् । गर्भमा छोरी देखिनासाथ गर्भपतन गराएकी उनको स्वास्थ्यमा अहिले असर देखिन थालेको छ ।

गर्भमा छोरी भएकै कारण गर्भपतन गराउने उनी एक्ली महिला होइनन् । गर्भमा छोरी रहेको थाहा पाउनासाथ गर्भपतन गराउनेहरूको सङ्ख्या अत्यधिक रहेको चिकित्सकहरू बताउँछन् । लिङ्ग पहिचान गरी गर्भपतन गराउनु गैरकानुनी कार्य हो भन्ने थाहा पाएकाहरू पनि त्यसको बेवास्ता गरी गर्भपतन गराइरहेका र त्यो सङ्ख्या बढ्दो छ । परिस्थिति यहीरूपमा अगाडि बढे आउँदा दिनहरूमा छोरीको सङ्ख्या एकदमै कम हुने अड्कल यहाँका विज्ञहरूले गरेका छन् । सरकारी अस्पतालभन्दा निजी अस्पतालहरू तथा क्लिनिकमा अत्यधिक मात्रामा कानुन विपरीत गर्भपतन गराउने गरेको पाइएको छ । एक आङ्कडाअनुसार जनकपुरमा मात्र प्रत्येक दिन २० भन्दा बढी गर्भपतन हुने गरेका छन् । नेपालमा १२ हप्ता अर्थात् तीन महिनासम्मको गर्भको लिङ्गको पहिचान गर्न कठिन र महङ्गो रहेको छ । बाह्र हप्तापछिको गर्भपतन गराउनु स्वास्थ्यका लागि असुरक्षित मानिन्छ जुन कानुनीरूपमा अवैधानिक हुने जनकपुरको एक स्त्रीरोग विशेषज्ञले बताउनुभयो । परम्परागत सोचका कारण छोराको आशामा गर्भपतन गराउँदा धनुषा जिल्लामा बर्सेनि सयौँ महिलाले ज्यान गुमाउनु परेको छ । तर पनि महिलाहरूमा सचेतना भने बढेको छैन । भारतको जयनगर, सीतामढी, दरभङ्गा, पटनालगायत स्थानमा लिङ्ग पहिचान गरी नेपालमा गर्भपतन गराउने महिलाको सङ्ख्या अत्यधिक रहेको छ । त्यतिमात्र नभएर अवैधरूपमा गर्भधारण गरेका युवती तथा महिलाहरूले सीमापरी भारतीय अस्पताल, जनकपुरका निजी क्लिनिकहरूमा बढी रकम तिरेर गर्भपतन गराउने गरेको पाइएको छ । गत आर्थिक वर्ष २०६८/०६९ मा जनकपुर अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या २३१ रहेको छ । “प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूको कमाइ नै गर्भपतन गराउनेहरूबाट हुने भएकाले उनीहरू दलाल मार्फत गर्भपतन गराउने स्त्रीहरूको खोजी गर्ने गरेका छन्,” जनकपुर अञ्चल अस्पतालका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । रासस