पेन्सन बुझ्न गएका एक दम्पती पाँच दिनदेखि बेपत्ता

दमौली,माघ ९ । पेन्सन बुझ्न पोखरा गएका तनहुँको रिसिङ रानीपोखरी- २ पनेरथोकका एक दम्पती पाँच दिनदेखि बेपत्ता भएका छन् । पेन्सन बुझेर माघ ४ गते साँझ दमौलीमा रहेका छोरा बुहारीको घरतर्फ फर्केका चन्द्रबहादुर थापा र उनकी श्रीमती पविमाया थापा मङ्गलबारसम्म पनि नआइपुगेपछि उनीहरु बेपत्ता भएको खुलेको हो । माघ २ गते पेन्सन बुझ्न पोखरा गएका उनीहरु माघ ३ गते पेन्सन बुझेर ४ गते नजिकैको हिमालय आँखा अस्पतालमा आँखा जँचाएर ट्याक्सी चढी घरतर्फ हिँडेको जानकारीमा आए पनि घर नआएपछि उनीहरु कहाँ गए भन्ने केही नखुलेको घर परिवारले जनाएका छन् । चन्द्रबहादुरसँग पेन्सन बुझेको रु ५२ हजार र उनकी श्रीमती पविले चार तोला बराबरको सुनको गरगहना लगाएकाले ट्याक्सी वालाले अपहरण गरेको हो कि भन्ने आशङ्का परिवारले गरेको छ । उनीहरुको खोजीका लागि परिवारजनले जिल्ला प्रहरी कार्यालय दमौली, इप्रका भिमाद र कास्की प्रहरीमा निवेदन दिएका छन् । रासस