निर्मातासँग टाँसिएर के फिल्म खेल्नु : सुष्मा अधिकारी

सुष्मा अधिकारी यतिबेला म्युजिक भिडियोहरूमा व्यस्त छिन् । एकपछि अर्को भिडियोमा व्यस्त सुष्माको उद्देश्य भने सिनेमाको नायिका बन्नु नै हो । तर पनि उनलाई प्रस्ताव भने भिडियोहरूबाट बढी आउन थालेका छन् ।

० के भिडियो नै खेलेर बस्ने ? – के गर्ने त खोई सिनेमामा कुरा मात्र हुन्छ तर निश्चित भएको छैन । ० सिनेमामा हिरोइन बन्न के गर्नुपर्दो रहेछ त ? – मैले पनि कुरा बुझेकी छैन । कुरा हुन्छ तर पछि निर्माता नै गायव । ० सुष्मामा केही कमजोरी छ कि ? – खै ! त्यो त म भन्न सक्दिनँ । म्युजिक भिडियो निर्देशकहरूले त मेरो कामको तारिफ नै गरेका छन् । ० उसो भए अब छोडे हुने भयो होइन त फिल्म खेल्ने रहर ? – कहाँ छोड्नु । हिरोइन बन्नैपर्छ । ० सिनेमाको हिरोइन बन्नका लागि यत्रो मरिहत्ते किन ? – मरिहत्ते होइन, यो त मेरो सपना हो । सपना पूरा गर्नतिर त लाग्नैपर्‍यो नि । ० निर्माताको कुनै प्रस्ताव नमान्दा फिल्म खेल्न नपाएको हो कि ? – खै ? त्यो कुरा मलाई थाहा छैन । र, त्यस्तो गलत प्रस्ताव पनि आएको छैन । ० आफूलाई हिरोइन जस्तो लाग्छ ? – यहाँ कस्ता–कस्ता त हिरोइन भएका छन् । म त तिनीहरूको दाँजोमा राम्रै छु नि । ० यहाँ त हिरोइन बन्न निर्माणसँग नजिकिनुपर्छ भन्छन् नि ? – त्यो हो भने म त्यसको विरुद्धमा छु । निर्मातासँग नजिकिएर म सिनेमाचाहिँ खेल्दिनँ । ० म्युजिक भिडियोबाट जीवन चलेकै छ त ? – अहिलेसम्म चलेकै छ । काम चाँडो त म्युजिक भिडियोमा नै हुन्छ तर क्रेज सिनेमामा छ । ० क्रेजकै लागि हो त सिनेमा ? – हो नि, जुन शान सिनेमामा छ त्यो भिडियोमा छैन । हिरोइन बन्नु ठूलो सपना हो ।