‘पाकेटमार’सँग पैसा असुल्दा हवल्दार पक्राउ

२२ पुस, काठमाण्डौं । कहिले कैदीसँग गेष्ट हाउसमा भेट्ने त कहिले फिरौती माग्दै व्यापारी धम्क्याउने । नेपाल प्रहरीले बदनामी कमाउँदै आएका यस्ता घटना एउटापछि अर्को गर्दै थपिरहेका छन् । पछिल्लो समय प्रहरीले पकेटमारसँगै रकम असुलेको खबर बाहिर आएको छ । महानरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरीका हवल्दार प्रेम श्रेष्ठ पकेटमारसँग रकम असुल्दै गर्दा रंगेहात पक्राउ परेका छन् । ‘चोरी तथा पकेटमार’ नियन्त्रणमा खटिएका श्रेष्ठलाई महाशाखाले पक्राउ गरी हिरासतमा राखेको छ । उनले को कोसँग कति रकम असुलेका छन् भन्नेबारे महाशाखाले केही नखुलाएको कारोबार दैनिकमा खबर छ । केन्द्रीय कारागार सुरक्षार्थ तैनाथ हवल्दार रामअवतार यादब कैदीबन्दीसँग बागबजारस्थित गेष्टहाउसमा भेटिएपछि आयुक्तको कार्यालयले उनलाई एकसाता अघिनै सेवाबाट बर्खास्त गरेको थियो । यादबसँगै भेटिएका अन्य दुई जवान भुवन श्रेष्ठ र रमेश थापाको ग्रेड रोक्का भइसकेको छ । त्यस लगत्तै महाशाखाले श्रेष्ठलाई आचरण विपरीत काम गरेको भन्दै शुक्रबार पक्राउ गरेको थियो ।