सरकारी अस्पतालका औषधि चोरेर निजी मेडिकलमा

२२ पुस, काठमाण्डौं । सरकारी अस्पतालका स्टोर (भण्डार) मा रहेका औषधि तथा सर्जिकल सामान त्यहीका कर्मचारीले चोरेर निजी मेडिकलमा बिक्री गर्ने गरेका छन् । सरकारले टेन्डर खुलाएरै खरिद गर्ने यस्ता औषधि वीर, शिक्षण (टिचिङ) र वीरेन्द्र सैनिक (आर्मी) अस्पतालका डाक्टर/कर्मचारीले चोरी गरी सस्तोमा बाहिर बेच्छन् । चोरीमा सैनिक अस्पताल अघि रहेको कारोबार दैनिकले खबर छापेको छ । तीनमध्ये सवैभन्दा बढी सैनिकबाट औषधि आउने गरेको सुन्धारास्थित एक मेडिकल पसलका सञ्चालकले जानकारी दिएका छन् । ‘अस्पताल भित्रका डाक्टरहरुको मिलेमतोमा कर्मचारीले बाहिर ल्याउँछन् र आफ्ना एजेन्टमार्फत बिक्री वितरण गर्छन्,’ उनले भने । बिहीबार सँाझ सैनिक अस्पतालबाट पठाइएको औषधि र सर्जिकल सामान खरिद गरेर ५९ हजार रुपैयाँ बुझाउँदै गर्दा उनले यसैगरी वीर र टिचिङबाट पनि औषधि आउने गरेको जानकारी दिएका छन् । सरकारी अस्पतालबाट आएको औषधि र सर्जिकल सामान किन्न धेरै सस्तो भएको उनको भनाई छ । मेडिकल क्षेत्रमा ‘झोले’ भनेर चिनिने व्यापारीहरुले यस्ता सामान भित्र्याउने गरेका छन् ।