महिना नबित्दै बिते हासमी, बिन्दू र सरस्वती !

१४ पुस, काठमाडौं । दिल्लीमा बलात्कृत छात्राको सिंगापुरमा उपचार हुँदाहँदै निधन भएपछि शनिबार सिंगै भारत शोकाकुल भयो । बलिउड अभिनेता शाहरुख खानले समेत आफू पुरुष भएकोमा लज्जित भएको प्रतिक्रिया दिए । तर, नेपालमा भने बर्दियाकी शिवा हासमी, बाराकी बिन्दू ठाकुर र काठमाडौंकी सररस्वती सुवेदी मर्दा हामी नेपालीहरुमा अझैसम्म खासै संवेदनशीलता पलाएको छैन ।

पछिल्लो समय नेपालमा महिला हिंसाका घटना बढेका छन् । मंसिर अन्तिममा बर्दिया गुलरियाकी शिवा हासमीलाई पेट्रोल खन्याएर आगो लगाई हत्या गरिएको छ भने बारामा टु्यसन पढ्न गएकी बिन्दू ठाकुरको आगो लगाई यसै साता हत्या भएको छ । अनामनगरमा रहस्यमय मृत्यु भएकी सरस्वती सुवेदीका परिवारले घटनाको छानविन गर्न माग गरेका छन् ।

बालुवाटारमा धर्ना

शनिबार दिल्ली शोकमग्न भएकै दिन नेपालमा पनि महिला हिंसा रोक्न माग गर्दै शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मै प्रधानमन्त्री निवास बालुवाटारमा महिला अधिकारवादी सङ्घसंस्थाहरुले धर्ना दिएका छन् । महिला अधिकारकर्मीहरुले धर्ना दिएपछि प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि महिला हिंसामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालमा यतिबेला देशभर महिला हिंसा बढिरहेको भन्दै यसको नियन्त्रण र दोषीलाई कडा कारबाही र पीडितलाई राहतको माग गर्न महिला अधिकारकर्मीहरूको टोलीले डा. रेणुराज भण्डारीको नेतृत्वमा प्रधानमन्त्री डा. भट्टराईसँग भेट गरेपछि प्रधानमन्त्रीले दोषीलाई कारवाहीको प्रतिवद्धता जनाउनुभएको हो । महिला अधिकारकर्मीसँगको भेटमा प्रधानमन्त्रीले हालै अनामनगरमा मारिएकी घरेलु कामदार सरस्वती सुवेदीको पुनः शव परीक्षण गरी मृत्युको कारणबारे छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।त्यस्तै यसैसाता अध्यागमनमा साउदीबाट र्फकेकी भोजपुरकी युवतीलाई लुट्ने दोषीलाई कडा कारबाही गर्ने बचन पनि प्रधानमन्त्रीले दिनुभएको छ । प्रधानमन्त्रीले पीडित महिलाबारे आˆना मागहरू लिखितरूपमा ल्याउन आग्रह गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री दुःखी

महिलाका पक्षमा नेपालीहरुभन्दा भारतीयहरु बढ्ता सम्वेदनशील देखिएका छन् । नयाँ दिल्लीमा डिसेम्बर १६ मा सामूहिक बलात्कारबाट पीडित छात्राको शनिबार बिहान सिङ्गापुरमा मृत्यु भएपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दुख व्यक्त गर्नुभयो । बलात्कृत छात्राको शनिबार बिहान सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा मृत्युभएपछि प्रधानमन्त्री सिंहले आफ्नो वेबसाइटमा उनको मृत्युलाई खेर जान नदिने उल्लेख गर्नुभयो । दिल्लीमा ६ व्यक्तिको समूहले २३ वषर्ीया छात्रामाथि बलात्कार गरेको विरोधमा भारतभर अहिलेसम्म विरोध प्रदर्शन भइरहेका छन् । विरोध प्रदर्शनका क्रममा एक प्रहरीकोसमेत ज्यान गइसकेको छ ।