जाडोमा के लाउँछन् शीर्षनेता ?

कोट सबैका साझा, अरुमा आफूखुशी १४ पुस, काठमाडौं । पहिले-पहिले बिहान झिसमिसेमै बैठक र छलफलका लागि निस्कने शीर्षनेताहरु हिजोआज घाम पारिलो नहुँदासम्म हत्पति घरबाहिर निस्कँदैनन् । अरुलाई जस्तै नेताहरुलाई पनि चिसो र जाडो हुन्छ । घाम नलाग्दासम्म सिरकभित्रै बस्ने र खाना खाएपछि घाममा टहलिने उनीहरुको दिनचर्या बनेको छ ।

तर, सधैं घरभित्र सिरकमा र बाहिर घाम तथा हिटरमा बसेर मात्र सुख पाईंदैन । अरुले जस्तो कष्ट व्यहोर्नु नपरे पनि शीर्ष नेताहरुलाई जाडोमा समेत यताउता डुलिरहन्छन् । कहिले शितल निवास तथा कहिले अरु नेताहरुको घरदैलो । हिँडडूल र भेटवार्ता भैरहन्छ । त्यसैले सार्वजनिक ठाउँमा ओहोरदोहोर गर्दा शीर्ष नेताहरु अरुले जस्तै बाक्लो लुगा लगाउँछन् । तर, यस्तो लुगा लगाउँदा कतिले ‘च्वाइस’ मा ध्यान दिन्छन् त कतिले उतिसारो मतलव राख्दैनन् । कसले के लाउँछन् ? शीर्ष नेताहरुमध्ये एमाले अध्यक्ष झलनाथ खनाल लवाइ-खवाइमा अलि बढी ध्यान दिनुहुन्छ । जता जाँदा पनि चिटिक्क परेर निस्कने उहाँको पहिलेदेखिकै बानी हो । जाडोमा समेत उहाँले शरीरलाई सुहाए/नसुहाएको ख्याल गरेर मात्र लुगा लगाउनुहुन्छ । सार्वजनिक कार्यक्रममा खनालले प्रायः एउटा पहिरन छुटाउनुहुन्न । त्यहो हो-कालो रंगको हाइनेक । भादगाउँले टोपी त लगाउनुहुन्छ नै । जाडोमा उहाँले कालो हाइनेक प्रायः छुटाउनुहुन्न । जाडोमा उहाँको गलामा रातो रंगको गलबन्दी पनि देखिन्छ । ज्याकेटभन्दा ऊनीको कोट उहाँले बढी लगाउनुहुन्छ । कहिलेकाहीँ स्वीटर र ज्याकेट लगाएर पनि उहाँ बाहिरफेर हिँड्नुहुन्छ । घुँडासम्म आउने ओभरकोटमा पनि उहाँलाई बेलाबेला देख्न सकिन्छ । कोट, ज्याकेट, स्वीटर जे लगाए पनि खनालले नेपालको नक्सा भएको लोगो राख्न कहिल्यै भुल्नुहुन्न । घरमा बस्दा चाहिँ खनालले ट्रयाकसुट लगाउने गर्नुहुन्छ । आफूलाई चाहिने लुगा किन्न बेलाबेला उहाँ आफैं पनि पसलमा पुग्नुहुन्छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपालमा जस्तो पोशाकमा ध्यान दिनुहुन्न । घरमा जस्तो भेट्यो, त्यही लगाएर हिँड्नुहुन्छ ।
प्रायः पत्नी सीता र सहयोगीले पोशाक कुन लगाउने भनेर सल्लाह दिन्छन् । जाडोमा उहाँ प्रायः ज्याकेट लगाएर बाहिरफेर निस्कनुहुन्छ । कहिलेकाहीँ स्वीटर र कोट पनि लगाउनुहुन्छ । प्रचण्डले बेलबेला गलबन्दी र टाउको गम्लङ्ग ढाक्ने ऊनीको टोपी पनि लगाउनुहुन्छ । घरमा बस्दा खनालले जस्तै उहाँले पनि ट्रयाकसुट लगाउनुहुन्छ । प्रचण्ड अलि बढी फूलबुट्टे टीसर्टमा पनि देखिनु हुन्छ । प्रचण्डलाई प्रायः उहाँका सहयोगीले लुगा ल्याइदिन्छन् । भतिजा समीर दाहालले लगाउने लुगा उहाँलाई पनि ठीक हुन्छ । कांग्रेस सभापति सुशील कोइराला जाडोमा ज्याकेट भन्दा कोट र स्वीटर बढी लगाउने गर्नुहुन्छ । हरियो रंगको गलबन्दी प्रायः उहाँले छुटाउनुहुन्न । कोइरालाले बेलाबेला कान ढाक्नेगरी ऊनीको टोपी पनि लगाउनुहुन्छ । खनाल र प्रचण्डले जस्तो कोइरालालाई चिटिक्क पारेर लुगा लगाउन आउँदैन । उहाँजस्तै लुगामा त्यति ध्यान नदिने नेतामा पर्नुहुन्छ, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण । धेरैजसो ज्याकेट लगाउनुहुन्छ । गलामा गलबन्दी छुट्दैन । ऊनीको टोपी पनि लगाउनुहुन्छ । ज्याकेटकोभित्र जीउ तताउने थर्मोकोट पनि हुन्छ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कालो रंगको हाइनेक प्रायः छुटाउनुहुन्न । धेरैजसो उहाँ कोट नै लगाउनुहुन्छ । बेलाबेला गलामा गलबन्दी पनि भिर्नुहुन्छ । प्रधानमन्त्री भएकाले मात्रै पनि होइन, भट्टराई पहिलेदेखि नै लुगा चिटिक्क लगाएर हिँड्ने व्यक्तिमा पर्नुहुन्छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल धेरैजसो ज्याकेट लगाउनुहुन्छ । खैरो रंगको कोट र गलबन्दी पनि बेलाबेला लगाउनुहुन्छ । उपप्रधानमन्त्री एवं मधेसी मोर्चाका नेता विजयकुमार गच्छदार धेरैजसो कोट लगाउनुहुन्छ । उहाँले पनि गलबन्दी प्रायः छुटाउनुहुन्न । बेलाबेला ऊनीको टोपी पनि लगाउनुहुन्छ ।