आज तमु ल्होसार मनाइदै

१५ पुस, काठमाण्डौं । देशभरका गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । साथै नयाँ लुगा लगाउने, सेलरोटी, खिरलगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि रमाइलो गर्ने परम्परा छ ।

नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, सेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले पनि मनाउने गर्छन् । तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा सेर्पालगायतका जनजातिले फागुन शुक्लप्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् । प्रत्येक १२ वर्षमायुग परिवर्तन हुने र यीवर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतिकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ जातिले गरुड वर्ष बिदाइ गरेर सर्प वर्षका रूपमा स्वागत गर्दैछन् । नेपाल सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदा पनि दिनथालेको छ ।

यसै उपलक्ष्यमा उनीहरुले विभिन्न सास्कृतिक तथा मनारञ्जनात्मक कार्यक्रम गरी मनाउँदैछन् । सोही अवसरमा राजधानीको टुडिँखेलमा विशेष समारोहको आयोजना हुँदैछ । समारोहमा गुरुङ समुदायका विभिन्न भेषभुसा सहितको झाँकी प्रदर्शन गरिनेछ ।

तमु ल्होसारको उपलक्ष्यमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा रामवरण यादवले देश विदेशमा रहनुभएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । सन्देशमा डा यादबले सन्देशमा हिमाल, पहाड र तराई मधेसमा बस्ने सबै नेपालीबीच बान्धुत्व र एकताको भावना बढाउने कार्यमा यस्ता राष्ट्रिय पर्वहरूले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । यसै अवसरमा उपराष्ट्रपति परमानन्द झाले दिनुभएको शुभकामना सन्देशमा विभिन्न संस्कृति, चाडपर्व एवम् मौलिकताले भरिएको नेपालमा तमु ल्होसार गुरुङ जातिमाझ लोकपि्रय चाडको रूपमा रहेको उल्लेख गर्नुभएको छ । उपराष्ट्रपति झाले सन्देशमा यस पावन पर्वको माध्यमबाट अन्य समुदायका नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विदेशमा रहनुभएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसार २०६८ को अवसरमा प्रधानमन्त्री डा भट्टराईले आज दिनुभएको शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको अनुपम नमूना हो भन्नुभएको छ ।

> यसैगरी, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तमु समुदायको महान् साँस्कतिक पर्व तमु ल्होसारको अवसरमा सम्पूर्ण तमु (गुरुङ) दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिनुभएको छ । उहाँले तमु ल्होछार पर्वको आˆनै मौलिकता रहेको बताउँदै गुरुङ समुदायलगायत सम्पूर्ण नेपालीको सुख, सुस्वास्थ्य र प्रगतिको कामना गनुर्ृभएको छ । यस्तै, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृसद्धका निम्ति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले विभिन्न भाषा, धर्म, र रीतिरिवाज तथा संस्कृति भएको नेपालमा एकले अर्काका सबै कुरालाई उच्च सम्मान गर्ने विशिष्ट परम्परा रहेको उल्लेख गर्नुभएको छ । यसै उपलक्ष्यमा एक शुभकामना सन्देश दिँदै नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले तमु ल्होसारले सम्पूर्ण तमुहरूमा नवीन उत्साह र उमङ्ग जगाओस् भन्नुभएको छ ।