लुटिएकी युवतीलाई न्याय माग्दै प्रधानमन्त्री गेटमा प्रदर्शन

केही समय अगाडि काठमाण्डौँको विमानस्थलमा लुटिएकी महिलाले न्याय पाउनु पर्ने भन्दै विभिन्न व्यक्तिहरुले बालुवाटारस्थित प्रधानमन्त्री गेटमा प्रदर्शन गरेका छन् । २ सय भन्दा बढी महिला तथा पुरुष रहेको उक्त प्रदर्शनमा अधिकारवादी, नागरिक समाज तथा युवा समूह संलग्न रहेका छन् । उनीहरुले हातमा प्ले कार्ड बोकेर प्रधानमन्त्री निवासको गेट नं.३ अगाडि प्रदर्शन गरेका छन् । प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रदर्शनकारीहरुलाई गेटबाट हटाएको छ । प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन खोजेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेको हो । यसवर्षको सीएनएन हिरो पुष्पा बस्नेत लगायतका समाजका विभिन्न व्यक्तित्वहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् ।