प्रधामनन्त्रीको 'दोस्रो बिहे'

मंसिर मसान्तको दिन टेलिभिजन हेर्ने दर्शक एकछिन अलमलमा परे, प्रधानमन्त्री बाबुराम भट्टराईलाइ दुबोको मालासहित बेहुलाको भेषमा देखेर। टेलिभिजनको पर्दामा हिसिला पनि बेहुलीझैं बनेर मुस्कुराएको देखिन्थ्यो। देश भीरको फर्सीझैँ भएको बेला प्रधानमन्त्री दम्पतीको मुहारमा कुनै चिन्ता थिएन। बरु वरबधुजस्ता मुस्कुराइरहेका थिए। हिसिला यमीको निर्वाचन क्षेत्र काठमाडौंको गोलढुंगा गाविसमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीलाई स्थानीयले दुबोको माला लगाइदिएका थिए। लगनको महिनामा दुबोको माला लगाएर उभिएपछि सर्वसाधारणले बेहुलो ठान्नु स्वाभाविकै थियो। कार्यक्रममा हिसिलाले आफूहरूको विवाहको कहानी सुनाइन्, 'आज म मख्ख परेकी छु। हाम्रो पुनः विवाह भएको जस्तो भान भएको छ। पहिलो विवाहमा बाबुरामजीलाई दुबोको माला लगाउन पाइनँ।' हिसिलाको भनाइ सुनेर कार्यक्रममा हाँसोको पर्रा छुट्यो।
बाबुराम बोल्न स्टेजमा पुगे। उनले पनि बिहेकै प्रसंग कोट्याए। रामायणको उदाहरण दिँदै प्रधानमन्त्रीले भने, 'हिसिला मैले बिहे गरेपछि नेता भएकी होइनन्। उनी नेता बनेपछि मैले बिहे गरेको हुँ।'