प्रचण्डलाई पूर्व जनसेनाले थप्पड हाने (भिडियोसहित)

१ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व जनसेनाले थप्पड हानेका छन् । नेपाल संवत ११३३ को अवसरमा राजधानीको भृकुटीमण्डपमा शुक्रबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डलाई बाग्लुङका पदम कुँवरले मञ्चमै पुगेर गालामा थप्पड हानेका हुन् । कार्यक्रममा पुगेका प्रमुख दलका शीर्ष नेताहरुलाई विदा गरेपछि सहभागीहरुसँग

हात मिलाइरहेका बेला कुँवरले अभिवादन साटेपछि प्रचण्डलाई थप्पड हानेका थिए । प्रचण्डमाथि आक्रमण गर्ने कार्यकर्तालाई मञ्चमा रहेका नेता, कार्यकर्ता र सुरक्षाकर्मीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । त्यसक्रममा उनलाई माओवादी कार्यकर्ताले कुटपिट गरेका छन् । उनलाई जोगाउन प्रहरीलाई हम्मेहम्मे परेकेा थियो । प्रहरीले जोगाउन प्रयास गर्दागर्दै पनि माओवादी कार्यकर्ताले कुवँरलाई गम्भीर घाइते हुनेगरि कुटेका छन् । उनलाई पुलिस क्लबसम्म लैजान प्रहरीलाई हम्मेहम्मे परेको थियो । माओवादीका कार्यकर्ताले अहिले आक्रमणकारीलाई सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । चियापानमा सहभागी सवैजसोलाई प्रचण्डसँग हात मिलाउने अबसर दिइएकाले साबधानी अपनाउन नसकिएको बताइएको छ । को हुन कुवँर ? प्रहरीले अहिलेसम्म आक्रमणकारीबारे केही जानकारी गराएको छैन् । यद्यपि बाग्लुङकी माओवादी केन्द्रीय सदस्य बलावति शर्माले कुवँर बैद्यपक्षीय कार्यकर्ता भएको बताइन् । कुँवरबारे आफुले कार्यकर्तासँग जानकारी लिएको बताउँदै शर्माले उनी जनमुक्ति सेनाको पूर्व लडाकू रहेको र अघिल्लो बर्ष स्वेच्छिक अबकाश लिएको पत्ता लागेको बताइन् । बैद्य पक्षीय माओवादीका सचिव सीपी गजुरेलले एभिन्युज टेलिभिजनसँग कुरा गर्दै कुँवर आफ्ना कार्यकार्ता भएको अझै पुष्टि नभएको बताउनु भएको छ । कस-कसले खाए थप्पड ?
जनताको थप्पड खानेमा प्रचण्ड पछिल्ला ‘भीआईपी’ हुन् । यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथी इटहरीमा एमाले समर्थकले झापड हानेका थिए भने नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि अघिल्लो महिना काठमाण्डौको कपनमा आक्रमण भएको थियो । एमाओवादीका सभासद झक्कुप्रसाद सुवेदीमाथि पनि काठमाडौंको तीनकुनेमा चिया पसलेले झाडप हानेका थिए । भिडियो