श्रील‍ंकाले सुपर ओभरमा न्युजिल्यान्डलाई पछ्यायो

पालेकेले, असोज ११ (एएफपी)- आयोजक श्रीलंकाले बिहीबार विश्व ट्वान्टी-२० को सुपर एटमा सुपर ओभरमा न्युजिल्यान्डलाई पछ्याउँदै विजयी सुरुआत गरेको छ।
सुपर ओभरमा श्रीलंकाले टिम साउथीको ओभरमा १ विकेट गुमाई १३ रन बनायो। लासिथ मालिङ्गाले त्यसको जवाफमा ७ रनमात्र दिएपछि न्युजिल्यान्ड पराजय स्वीकार्न बाध्य भयो।
यसअघि दुवै टोलीले निर्धारित २० ओभरमा १ सय ७४ रन बनाएको थियो। ट्वान्टी-२० अन्तर्राष्ट्रियमा यो सातौं 'टाइ' खेल थियो।
ओपनर तिलकरत्ने दिलशानले ५३ बलमा ३ छक्का र पाँच चौकासहित ७६ रन बनाउँदा श्रीलंकाले सजिलै लक्ष्य पछ्याउने देखिएको थियो। तर कसिकसाउ बलिङ र फिल्डिङ गर्दै न्युजिल्यान्ड खेलमा फर्किएको हो। अन्तिम ४ ओभरमा ३८ रन चाहिएको अवस्थामा कुमार सांगाकारा (२१) र जीवन मेन्डिस (८) आउट भएपछि श्रीलंका दबाबमा परेको थियो।
श्रीलंकालाई अन्तिम दुई ओभरमा २१ रन चाहिने अवस्थामा दिलशानले जेम्स फ्रयांक्लिनलाई पहिलो बलमै छक्का प्रहार गरे पनि अर्को बलमा रनआउट भए। अन्तिम ओभरमा ८ र दुई बल बाँकीमा ५ रन आवश्यक पर्दा लाहिरु थिरिमाने चौका प्रहार गरी खेल बराबरीमा ल्याए पनि अन्तिम बलमा उनी रनआउट भए।
यसअघि न्युजिल्यान्डबाट रोब निकोलले ४० बलमा ५८, मार्टिन गुप्टिलले ३८ र ब्रेन्डन म्याकलमले २५ रन बनाए। श्रीलंकाका अलिका दानानजयले २ विकेट लिए। अजन्था मेन्डिसले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए।
शुक्रबारका खेल
पाकिस्तानविरुद्ध दक्षिण अफ्रिका (३.४५ बजे)
अस्ट्रेलियाविरुद्ध भारत (साँझ ७.४५ बजे)