सापट लिएको ऋण तिर्न नसकेर बुहारीलाई नै घरबाट निकालियो?

२८ माघ, मोरङ । मोरङको सलकपुरकी रेखा पौडेलले जेठी बुहारीमार्फत दिएको ऋण तिर्नुपर्ने डरलले नाबालाक दुई नातिनातिनासहित बुहारीलाई घर निकालिदिएकी छन् । सासूले घरबाट निकालिदिएपछि सुनसरी इटहरी २ शान्तिनगरी माइती भएकी दीपा पौडेल र दुई बच्चाको बिचल्ली भएको हो ।



सासू रेखा पौडेलले जेठी बुहारी दीपालाई प्रयोग गरी विभिन्न समयमा संस्था र व्यक्तिमार्फत ७ लाख रुपैयाँ ऋण लिएको र सो ऋण नतिरेकाले दाताबाट दवाव आउन थालेपछि ऋण तिर्नुको सट्टा बुहारीलाई नै घरबाट निकालिदिएकी हुन् ।



साथै छोरालाई फकाएर सम्बन्ध विच्छेद पनि गराएकी छन् । दाताहरुले घरमा आएर दिनदिनै दवाव दिन थालेपछि छोरा छत्रबहादुर पौडेलसँग सम्बन्ध विच्छेद गराएको पीडित दीपाले बताएको खबर राजधानी दैनिकले छापेको छ ।



श्रीमान् छत्रबहादुरले समेत सम्बन्ध विच्छेद गराएको जस्तो गरेर कागज गर्ने र सुरुमा बेग्लाबेग्लै बसेको नाटक गर्नेर अन्य भाईहरुले ऋण तिरिसकेपछि दुवैसँगै बस्ने भन्दै फकाएको उनले बताइन् । गत असोजमा मोरङ अदादतमा आफूले यस्तै जवाफ दिएको पनि उनले भनिन् । तर, अहिले छत्रबहादुर पनि सम्पर्कविहीन छन् । सम्बन्ध विच्छेद गराएर घरमा बस्न नदिएपछि दीपासहित १० बर्षका छोरा आयुष र पाँच बर्षकी छोरी अनुष्कालाई लिएर दीपा माइतीको शरणमा पुगेकी छन् ।