आठ महिनाकी गर्भवतीलाई पनि ससुराको बलात्कार !

२८ माघ, सिन्धुपाल्चोक । आफ्नै ससुराबाट पटक पटक बलात्कृत हुँदै आएकी सिन्धुपाल्चोककी एक महिला न्यायको खोजीमा प्रहरी कार्यालय पुगेकी छन् । ठूलो सिरुवारी ५ की १८ बर्षकी रमिला (नाम परिवर्तन) ससुराले पटक पटक बलात्कार गरेको पीडा सहन नसकी न्यायका लागि प्रहरीमा पुगेकी हुन् ।

ससुरा दिलबहादुरबाट पटक पटक बलात्कृत भएको घटनामा श्रीमानले पनि साथ नदिएपछि प्रहरीलाई गुहार्न उनी बाध्य भएकी हुन् । आठ महिनाको गर्भवती अवस्थामा होस, वा चार महिने सुत्केरी अवस्थामा नै किन नहोस, उनी यौनपिपासु ससुरा दिलबहादुरको सिकार हुनुपरेको पीडा पोख्न र तिनै ससुराविरुद्ध उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेकी छने रमिला । घरबाहिर गाडी चलाउने काम गर्ने श्रीमानलाई ससुराको हर्कतबारे पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरेपछि आफु प्रहरीमा उजुरी गर्न बाध्य भएको पीडित रमिलाले सुनाइन् । चार महिनाको काखो छोरालाई दूध चुसाउँदै प्रहरी कार्यालयमा न्याय माग्न आएकी उनको पीडा कम्ती कारुणिक छैन् । बारीमा घाँस काट्न जाँदा पानी परेर ओत लाग्न बसेको समयमा आफ्नै ससुराले जबर्जस्ती गरेको उनको पीडो जो सुकैको आङ सिरिंग हुन्छ, मुटु ढक्क फुल्छ । सुत्केरी अवस्थामा कोठामा शिशुको स्याहार गरिरहेका बेला पनि ससुराले जबर्जस्ती गरेकेा उनको कथा निक्कै दर्दनाक छ । उनले आँखाबाट बलिन्द्र धारा आँशु चुहाउँदै भनिन् -’ससुराले मलाई एक्लै जहाँ भेट्यो, त्यही जबर्जस्ती गर्न थाल्यो, मेलामा भेटे मेलामै, घरमा भेटे घरमै, गोठमा भेटे गोठमै । जहाँ भेट्यो, त्यही उसको सिकार हुनुपर्‍यो ।’ प्रेम विवाह गरेकी उनले श्रीमानले भने सारै माया गर्ने सुनाइन, विहे गरेको केही समयपछि श्रीमान कामको लागि बाहिर गएकाले आफू यस्तो पीडा सहनुपरेको उनले सुनाएको राजधानी दैनिकमा खबर छ ।