म शहरिया दर्शकको नायिका हैन : रेखा थापा


लामो समय देखी नेपाली फिल्म उधोगमा अभिनेत्रीको रूपमा राज गर्दै आएकी रेखा थापा अहिले पनि उत्तिकै चर्चामा छिन् । अझै पनि उनका फिल्म खासै असफल मानिदैनन् । अन्य स्टार कलाकारको भ्यालु खस्किदै गए पनि उनको भ्यालु अझै उत्तिकै देखिन्छ । यस्तै फिल्मसँगै उनको राजनिती मोह पनि देखिन थालेको छ । के रेखा अब राजनितीमा लाग्ने हुन् त ? के रेखाको फिल्म अझै पनि दर्शकले रूचाईरहेका हुन् त ? यि यिनै बिषयको साथमा उनले अभिनय गरेको पछिल्लो फिल्म लंकाको बारेमा गरिएको कुराकानी -

लंकामा तपाईं त नायक भएर देखिदै हुनुहुन्छ रे नि ! तपाईंलाई किन नायक भनिएको होला ?
यो फिल्ममा मैले भरपूर एक्सन गरेकी छु सायद त्यहि भएर नायक भनिएको होला । तर एक्सन गर्दैमा नायक नै हुन्छ भन्ने हुँदैन । यसअघि मैले कर्णविर, दुर्गा, हिम्मत जस्ता फिल्ममा पनि यस किसिमका भुमिका निर्वाह गरिसकेकी छु । त्यो बेला पनि मलाई नायक नै भनिएको थियो । पछि मैले धेरै पटक एक्सन बिनाको नारी प्रधान फिल्म गरें त्यो बेला मलाई नायक भनिएन । त्यसैले यहाँ नायकको परिभाषा बुझाई अलि गलत छ । जे होस् नायक भन्दा पनि एउटा महिलाले गर्न नसक्ने च्यालेञ्जिङ भुमिका लंकामा निभाएकी छु ।

नायकको परिभाषालाई तपाईंले कसरी प्रस्ट्याउनु हुन्छ ?
केटा मान्छे नायक अनि केटि मान्छे नायिका भन्ने प्रचलन छ म त्यसलाई मान्दिन । परिवारका लागि, समाजका लागि, राष्ट्रका लागि राम्रो काम गर्ने जुनसुकै महिला पनि नायक हुन सक्छ । फिल्म भित्र पनि कथा एउटा महिला पात्रको वरिपरी घुमेको छ भने एक्सन नै नभए पनि उ नायक हुनसक्छ । हरेक महिला आ-आफ्नो क्षेत्रबाट नायक हुनसक्छन् । जस्तै मैले फिल्मबाट नायक बन्ने प्रयास गरेकी छु । केहि हदसम्म सफल पनि भएकी छु ।

परिवारको नायक त बन्न सक्नु भएन नि !
नायक भएकै हो । कतिको त १/२ बर्षमा नै घरपरिवार बिग्रन्छ मेरो त १२ बर्ष सम्म सफल भयो । अहिले आएर केहि हदसम्म असफल भने भएकै हो ।

लंका फिल्मबाट कत्तिको आश राख्नु भएको छ ?
म त एकदमै आशावादी छु । हिम्मत, दुर्गा, कस्ले चोर्‍यो मेरो मन, हिफाजत जस्ता फिल्ममा भन्दा यो फिल्ममा अझै बढि शसक्त रूपमा प्रस्तुत गरिएको छ । त्यसैले ति फिल्म भन्दा यो फिल्मले अझै मलाई उचाई दिनेछ भन्ने आश छ ।

बिग्रेको नेपाली फिल्मको बजारलाई लंकाले कुन मोडमा पुर्‍याउला जस्तो लाग्छ ?
जबजब घरपरिवार बिग्रन्छ अनि महिलाले नै बिग्रेको घरलाई बनाउने हो । फिल्मको हकमा पनि यहि कुरा लागु हुन्छ जसको उदाहरण मेरा अघिल्ला फिल्मले देखाई सकेको छ । जुन बेला नेपाली फिल्मको बजार खस्किएको थियो त्यो बेला दुर्गा फिल्ममा मैले काम गरेकी थिएँ । त्यो बेला रेखा अब हिरो बनेकी छ उसको करियर चौपट हुने भो बनेर हल्ला गरिएको थियो तर त्यहि फिल्मले खस्केको बजारलाई माथि उठायो । त्यसपछिका थुप्रै मेरा फिल्मले खस्केको नेपाली फिल्मको बजारलाई माथि उठाएको छ ।

त्यसोभए दर्शकले रेखाकै फिल्मलाई कुरेका हुन् त ?
रेखाको फिल्मलाई कुरेको भन्दा पनि दर्शकलाई चाहिएकै फिल्म लंका जस्तै हो । दर्शकहरूले आफूले खोजेको चिज नै भेटिरहनु भएको छैन । यहाँ नयाँ धार र पुरानो धार भनेर छुट्ट्याउन थालियो र दर्शकलाई कन्फ्यूजमा पारियो । लंकाले त्यो कन्फ्युज हटाउने छ । घमण्डका साथ भन्छु म शहरका दर्शकको नभएर ग्रामिण भेगका दर्शकको नायिका हुँ । त्यसकारण उहाँहरू आफ्नो नायिकालाई हेर्न पक्कै आउनु हुन्छ ।

अहिले त स्टारकास्ट र उनीहरूले अभिनय गरेको फिल्मको समय सकियो भनिन्छ नि !
यदाकदा नयाँ कलाकारले अभिनय गरेको फिल्म चल्नुलाई मुख्य बिषय बनाउनु राम्रो हैन जस्तो लाग्छ । जस्ले स्टार बनाईदिएको हुन्छ उसले स्टारलाई पक्कै माया गरेको हुन्छ । फिल्म राम्रो बन्छ भने स्टारको जस्तो भ्यालु अरूको हुँदैन ।

तपाईं यो १२ बर्षको फिल्म अनुभवले अहिले नेपाली फिल्म नचल्नुको कारण के देख्नु हुन्छ ?
नेपाली फिल्ममा परिवर्तनको नाममा जस्ता फिल्म पनि बन्न थाले । नयाँ धार भन्दै चरिरहेको उधोगमा एक्कासी परिवर्तन ल्याउन खोजियो अनि दर्शक कन्फुजमा परे । परिवर्तन भनेको एक्कासी ल्याउनु हुँदैन बिस्तारै ल्याएको परिवर्तन दिर्घायु हुन्छ । उदाहरणको रूपमा छबि ओझालाई लिन सकिन्छ । उहाँले युगदेखि युगसम्म हुँदै आज हमेसा सम्म आईपुग्दा ल्याएको परिवर्तनलाई हेर्नु पर्छ । एउटा सच्चा मेकरले मेकिङमा बिस्तारै परिवर्तन ल्याउँछ र उ सफल हुन्छ । त्यसैले परिवर्तनको नाममा हामीले हतार गरेका कारण आज उधोगको यो गती भएको हो ।

विकास बोर्डको अध्यक्ष हुन निकै तारतम्य मिलाईरहनु भएको छ । ज्योतिष कहाँ पनि चिना हेराउन पुग्नु भएछ । अध्यक्षको मोह किन जाग्यो ?
ज्योतिष कहाँ पुगेको त हैन तर बोर्डमा जाने प्रयास गरेको पक्कै हो । बोर्डमा फिल्म उधोगकै मान्छे हुनुपर्छ गैर्‍हफिल्मकर्मीको प्रवेश हुनुहुँदैन भनेर म लागेको हो र त्यसमा म केहि हदसम्म सफल पनि भएकी छु । म नै अध्यक्ष हुनुपर्छ भन्ने चांही हैन ।

बोर्डमा पुगेपछि अभिनय करियर सकिन्छ जस्तो लाग्दैन ?
म अध्यक्ष भईहालें भने पनि अभिनयलाई निरन्तरता दिन्छु । यो मेरो कर्म क्षेत्र हो र मलाई यहि क्षेत्रले चिनाएको हो । विकास बोर्डको अध्यक्ष भन्दा रेखा थापा ठूलो हो त्यसैले म अध्यक्ष भएर कहिल्लै ठूलो हुन्न । म रेखा थापा भएरै ठूलो भईरहेको छु ।

फिल्म पछिको योजना राजनिती त हैन ?
हो, फिल्मबाट बिस्तारै बिश्राम लिएर म राजनिती तर्फ लम्कने छु । दर्शकहरूले केहि बर्ष पछि मलाई राजनेताको रूपमा देख्न पाउनु हुनेछ ।

कुन पार्टीको सदस्य भएर देखिनु हुन्छ त ?
यो पार्टी नै भनेर अहिले भन्दिन तर म सक्रिय रूपमा राजनितीमा भने पक्कै लाग्छु । त्यसको गृहकार्यलाई अहिले अगाडी बढाईरहेकी छु ।

राजनितीमा लाग्ने भनेर हो कहिले नेतासँग नाच्ने अनि अहिले नेताहरूलाई दाईभाई बनाउने ?
यो मेरो कुण्डलीमा लेखिएको जस्तो छ । मेरो कुण्डलीमा नलेखिएको भए सायद यो हुन्थेन होला ।

फिल्मबाट पूर्ण बिश्राम नै लिने हो त ?
जुन क्षेत्रले मलाई चिनायो त्यो क्षेत्र त पक्कै छोड्न सक्दिन । तर सक्रिय अलि कम हुन्छ होला । अहिले अभिनेत्री छु पछि नेत्री भएपछि मेकिङ तिर हात हाल्छु ।

फिल्म निर्देशन गर्ने कुरा चलिरहेको थियो । कहाँ पुग्यो त्यो प्रोसेस ?
हमेसा फिल्मको सुटिङ सकिए लग्गतै म केहि दिनका लागि अष्ट्रेलिया जान्छु । त्यहाँबाट फर्केपछि नयाँ योजनाका साथ निर्देशन कार्यलाई अगाडी बढाउँछु ।

अभिनेत्री हुने क्रमलाई अब बिश्राम दिने हो ?
मैले चाहें भने त अझै पाँच बर्ष अभिनेत्री भएरै यो उधोगमा रहनसक्छु तर अब करियरमा केहि टर्निङ प्वाईन्ट ल्याउने समय भएकाले यहि भन्न सक्दिन ।

रमाईलो प्रसङगलाई जोडौं, तपाईंले फिल्ममा बेड सिन, किस सिन दिन रूचाउनु हुन्न तर कपडा भने निकै छोटो लगाउनु हुन्छ ।किन ?
हो, मैले कहिलै सेक्सुअल आकर्षण दिने किस तथा बेड सिन भएको फिल्मलाई छनिन । किस सिन र बेड सिन बिना नै गहिरो प्रेम दर्शाउने फिल्मलाई मैले छानें । गहिरो प्रेम दर्शाउन र दर्शकलाई रोमान्टिक बनाउन किस सिन र बेड सिन नै दिनुपर्छ भन्ने छैन । जहाँसम्म छोटो कपडाको कुरा छ, हो मैले केहि बर्ष अगाडी सम्म छोटा कपडा लगाएँ त्यो मेरो उमेरले गर्दा थियो । तर अहिले धेरै भयो छोटा कपडा लगाएकी छैन । मैले आफूमा बिस्तारै परिवर्तन ल्याईसकेकी छु ।

बेड सिन र किस सिन नदिंदा नदिंदै छोटो कपडाको भरमा तपाईंलाई सेक्सी नायिका भनिएको हो ?
यो मैले भन्दा पनि दर्शक र मिडियाले दिएको ट्याग हो । तर म आफूलाई सेक्सी देख्दिन । फिल्ममा हाउभाउ र बोलीचालीमा सेक्सी देखिन सक्छु तर रियल लाईफमा मेरो अनुहार र शरिर सेक्सी भन्दा भलादमी छ जस्तो लाग्छ । तर सेक्सी भन्दा खुसी भने लाग्छ ।