छोरीको किस सिनमा मैले पनि इन्जोए गरें : शिब रेग्मी (निर्देशक)


आफन्त फिल्म निर्देशनसँगै रजतपटमा छिरेका निर्देशक शिब रेग्मीले आफ्नो करियरमा थुप्रै हिट फिल्म दिए । कति फिल्मले १०० औं दिन मनाए भने कति फिल्मले ५१ औं दिन मनाए । कलाकार मात्र हैन निर्माताहरू पनि एक पटक शिब रेग्मीसँग काम गर्न पाए अहोभाग्य ठान्ने गर्थे । यिनले थुप्रै कलाकारलाई जन्माए भने थुप्रै निर्मातालाई खुसी बनाए । यिनै निर्देशक पछिल्लो केहि बर्ष यता भने सफल हुन सकेनन् । के कारणले शिब सफल हुन सकेनन् त ? यो बिषय र उनले निर्देश गरेको पछिल्लो फिल्म 'सो सिम्पल' को बिषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंश -

सो सिम्पल कस्तो फिल्म हो ?
प्रेमकथामा मैले धेरै फिल्म बनाएँ तर किशोर अवस्थाको बिशुद्ध प्रेमकथामा पहिलो पटक सो सिम्पल बनाएको छु । पहिलो पटक कोमल हृदयबाट निस्केको किशोर अवस्थाको स्वच्छ प्रेमको कथामा बुनिएको फिल्म हो 'सो सिम्पल' । यसले नौलो र मिठो अनुभुती दिन्छ भने किशोर अवस्था पार गरेका दर्शकहरूको त्यो बेलाको अमूल्य क्षणको सम्झना गराउँछ । रमाईलो कुरा के छ भने मेरा अघिल्ला फिल्म हुने गरेका लामो संवाद यो फिल्ममा छैन । छोटो मिठो र निकै कम संवाद यो फिल्ममा प्रयोग गरिएको छ । संवादबाट भन्दा पनि कलाकारको हाउभाउबाट प्रेमको अनुभुती गराउने प्रयास गरिएको छ जसमा म आफैंले पनि निकै 'इन्जोय' गरें ।'

पुराना कलाकारसँग काम गरिरहेको अवस्थामा बिल्कुलै नयाँ कलाकारसँग काम गर्नुको कारण ?
यसअघिका मेरा फिल्ममा एउटा सम्म नयाँ कलाकार हुन्थे तर यसमा दुबै जना मुख्य कलाकार नयाँ छन् । पहिलो प्रेमको अनुभुति निकाल्न पुराना कलाकारबाट सम्भव थिएन । किनकी उनीहरूको प्रेम प्रसङ्गलाई धेरै पटक दर्शकले हेरिसकेका छन् । त्यसैले दर्शकलाई नयाँ स्वाद दिन नयाँ कलाकारको आवश्यकता देखिएको हो ।

आफ्नै छोरीलाई आफैले बनाएको फिल्ममा पहिलो पटक अभिनय गराउनुको कारण ?
मलाई फिल्म भन्दा बाहिर र फिल्म भित्रकै साथीभाईहरूले भन्ने गर्थे यो क्षेत्र निकै बदनाम छ छोरीलाई झुक्केर पनि नल्याउनु है । हाम्रो समाजमा छोरालाई हिरो बनाउन खोजे पनि छोरीलाई हिरोईन बनाउन नखोजेको पाईन्छ । तर मैले त्यस्तो सोचिन । म यत्रो बर्ष यो क्षेत्रमा लाग्दा मेरो नजरले फिल्म उधोगलाई सधैं राम्रो देख्छ भने छोरीलाई किन नल्याउने त भन्ने सोचेर ल्याएको हो । मेरो छोरीको पनि यो क्षेत्रमा लाग्ने इच्छा भएकाले र मैले उ भित्र अभिनयको क्षमता देखेकाले लाएको हो । अर्को कुरा निर्माता केशब भट्टराई जीले पनि भावनालाई आफ्नै फिल्मबाट डेब्यू गराउने इच्छा देखाउनु भयो अनि फिल्मको स्क्रिप्टमा पनि उ सुहाउने भएकाले अर्को विकल्प खोजेनौं ।

अरू कलाकारसँग र आफ्नै छोरीसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
बाल्यकाल देखि नै भावनाको हरेक आनीबानी मैले बुझेको छु जसले गर्दा अरूसँग भन्दा उसँग काम गर्न सहज भयो । उसको साना-साना कुराहरूलाई मैले पर्दामा उतार्न सकेको पनि छु । मलाई नजिकबाट बुझेकाले उसलाई पनि काम गर्न खासै गार्‍हो भएन । अरू नयाँ कलाकारसँग भन्दा आफ्नी छोरीसँग काम गर्न सहज भयो । सबैभन्दा रमाईलो कुरा त अहिलेसम्म कुनै कलाकारलाई त्यो किस सिन गराएको छैन जुन मैले यो फिल्ममा आफ्नै छोरीलाई गर्न लगाएको छु । तर त्यो किस सिनलाई मैले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छु । सो सिन खिच्दा भावना र हिरो प्रमोद भारद्धाजलाई त क्यारेक्टरमा डुबाएँ नै म आफू पनि उनीहरूको क्यारेक्टरमा डुबें र एक पटक आफ्नो फ्ल्यास व्याकमा पनि पुगें ।

छोरीले गरेको किस हेरेर आफ्नो १६ बर्षे जवानीलाई सम्झिनु भयो हैन त ?
एउटा निर्देशक कलाकारसँगै उसको क्यारेक्टरमा भिज्न सक्नुपर्छ । कलाकारसँग घुलमिल हुन सक्यो र क्यारेक्टरमा निर्देशक पनि डुब्यो भने त्यसैले दिने रिजल्ट राम्रो आउँछ । त्यसैले म पनि एक पटक १६ बर्षको उमेरमा पुग्ने मौका पाएँ र छोरीको किस सिनमा मैले पनि इन्जोए गरें । अर्को कुरा सो सिम्पल फिल्मले मलाई अर्को जन्म दिएको छ । भावना र प्रमोदको अनुहारमा प्रेमको भाव निस्कदाँ म आफैं पनि रोमान्चित भएँ । आफन्त गर्दा म भित्र जुन किसिमको जोश जाँगर थियो अहिले त्यो जोश जाँगर अझ बढेर आएको छ । साँच्चिकै भन्नु पर्दा ४८ बर्षको यो उमेरमा पनि मैले १६ बर्षको ठिटोको मिठो अनुभुती गर्ने मौका पाएँ ।

कलाकारलाई रूवाउने शिब रेग्मी अब ग्ल्यामर बन्दै हो त ?
हामी समयको माग अनुसार चल्नुपर्छ । अहिलेको परिप्रेक्षमा युवाहरूको ध्यान केन्द्रित गर्न उनीहरूको मनोभावलाई बुझ्नु पर्छ । फिल्ममा किस गर्नु, छोटो लुगा लगाउनु, सेक्स सिम्बोलका कुराहरू राख्नु नराम्रो हैन तर छोटो लुगा लगाएर छोटो मन बोकेर फिल्ममा आफूलाई प्रस्तुत गर्न हुँदैन । छोटो मन हुने बित्तिककै त्यसलाई विकृतीको रूपमा हेरिन्छ । हुनत नकच्चरोको औषधी हुँदैन तर पनि भल्गारिटीलाई सकेसम्म रोक्नुपर्छ । युवाहरूलाई आकर्षित गर्ने बाहानामा फिल्ममा विकृती आउन दिन हुँदैन । हामी हाम्रो समाजलाई ध्यानमा राखेर फिल्म बनाउनु पर्छ जुन मेरो फिल्ममा देखिन्छ । त्यसैले म ग्ल्यामर बन्छु तर भल्गर बन्दिन ।

सो सिम्पलका यि दुई नयाँ अनुहार भावना र प्रमोदको भबिष्य कस्तो देख्नु भएको छ ?
मेरो फिल्ममा खेलेको भनेर भनेको हैन, प्रमोद भोलीको सफल कलाकार हुनेमा म बिश्वस्त छु । उसको काम गर्ने शैली निकै राम्रो छ । सफलताको भारीले उसलाई अहम् बनाएन भने शत प्रतिशत उ फिल्म उधोगमा लामो समय दौडिने घोडा बन्ने छ । उ नबोले पनि उसको 'बडी ल्याङ्ग्वेज' बोल्छ जुन एउटा कलाकारमा हुनुपर्ने गुण पनि हो । भावनाको कुरा गर्दा उसले आफूलाई सुधार गर्दै गए उसको भबिष्य पनि राम्रो छ तर उसले अहिले आफ्नो अध्ययनलाई बढि जोड दिनुपर्छ ।

शिब रेग्मी नयाँ कलाकार र युवापुस्ता दर्शकलाई बुझ्न नसक्ने निर्देशक भनेर आरोप लागेका बेला सो सिम्पलले त्यो आरोपलाई कत्तिको मेटाउने प्रयास गर्ला ?
जुन मलाई सजिलो लाग्छ म त्यहि काम गर्ने हो । तर कहिले काहिं नयाँ स्वाद आफूले चाखे पछि अरू थुप्रै स्वादहरू मिठा हुन्छन् भन्ने बुझिने रहेछ । मैले सो सिम्पलमा नयाँ स्वाद चाख्ने मौका पाएँ जुन निकै मिठो पनि छ र दर्शकलाई पनि यो फिल्मको स्वाद मिठो लाग्नेछ भन्ने बिश्वास छ । यहि फिल्मबाट अब दर्शकले शिब रेग्मीलाई नयाँ स्वरूपमा पाउनु हुनेछ । यहि फिल्मले शिब रेग्मीको अर्को परिचय दिनेछ, अहिलेको पुस्तालाई बुझेर जानेछ र यो समयको माग पनि हो । म अहिलेको समयसँग घुलमिल हुँदै जानेछु । तर, केहि आफ्ना सिग्नेचर अर्थात आफ्ना पनहरूलाई मैले छोड्न सक्दिन ।

पछिल्ला समयमा तपाईंले निर्देशन गरेका फिल्महरू त फ्लप नै भए नि ! कारण के थियो ?
फिल्म नचल्नुको पहिलो दोष निर्देशकलाई नै जान्छ र मैले त्यो दोषलाई स्विकार गर्नैपर्छ । हो, मेरा पछिल्ला फिल्महरू चलेनन् सायद मैले त्यो बेलाको समयानुकुललाई बुझ्न सकिन र फिल्म मात्र हैन म नै फ्लप भएँ । मेरो होमवर्क कम भएको होला र म अलि हतार गरें होला । म समयसँग हिड्न जानिन होला । समय अनुसार अनुभुतीका शैलीहरू परिवर्तन हुँदै जान्छन् । अब म ति परिवर्तित शैलीलाई बुझ्ने कोसिस गरेको छु । आफ्ना पटकथा, संवाद र प्रस्तुतीको शैलीलाई परिवर्तन गरेको छु । अहिलेको समय अनुसार चल्ने कोसिस गरेको छु । अब शिब रेग्मी नयाँ स्वरूपमा पुन: यो क्षेत्रमा जन्मिदै छ ।

सो सिम्पलबाट कत्तिको आशावादी हुनुहुन्छ ?
म त हरेक फिल्मबाट आशावादी हुन्छु । तर यो फिल्मबाट अन्य फिल्मभन्दा अलि बढि नै आशावादी छु । किनकी यो शिब रेग्मीको नौलो फिल्म हो । यसमा मेरो कथा, प्रस्तुत गर्ने शैली, नयाँ केटाकेटीको नयाँ स्वाद, बिशुद्ध प्रेमकथा, गीतसंगीतबाट दर्शक सन्तुष्ट हुनुहुन्छ भन्ने लागेको छ ।