क्याप्टेन राम्रो नभए दुर्घटना हुनसक्छ : केकी अधिकारी (नायिका)


म्युजिक भिडियो हुँदै स्वर फिल्मबाट फिल्मी संसारमा पाइला टेकेकी नायिका हुन् केकी अधिकारी । संख्यात्मक हिसाबले स्वर पछि तीन फिल्म आई एम सरी, मायाको बारीमा र मसान मात्ररिलिज भएपनि उनले छोडेको छापले उनलाई दिन प्रतिदिन व्यस्त बनाईरहेको छ । स्नातकोत्तर तहमा अध्ययनरत यि प्रतिभाशाली नायिकालाई फिल्मीखबरले केहि नजिकबाट बुझेर उनको बौद्धिकता र उनी भित्रको क्षमतालाई बुझ्ने मौका पायो । उनले नभनेका र नबोलेका केहि कुराहरूलाई आज हामी प्रस्तुत गर्दैछौं -

नेपालको फिल्म क्षेत्र कता तिर गएको जस्तो लाग्छ ?
म हरेक कुरालाई सकारात्मक रूपले हेर्छु । त्यसैले मलाई लाग्छ फिल्म क्षेत्रले अहिले जे पाएको छ त्यो सफल उपलब्धी हो । दर्शकको ध्यान केन्द्रित गर्नु पहिलो सफलता हो र अहिलेका दर्शक भनेका टिनेजर हुन् । मलाई लाग्छ अहिलेका अधिकांश फिल्म यिनै टिनेजर केन्द्रित छन् र यस्तै बनाईनु पर्छ पनि । अर्को कुरा प्रबिधिले पनि फड्को मारेको छ भने बिस्तारै फिल्मकर्मी पनि मार्केट भ्यालुलाई बुझ्दै गईरहेका छन् ।
 
टिनेजरहरू प्रति लक्षित गर्ने भन्दै फिल्म मेकरहरू त अश्लिल फिल्म तर्फ सोझिएका छन् त । कारण के हुनसक्छ ?
घाम चर्केको बेला पानी पर्‍यो भने सबैलाई रमाईलो लाग्छ र सितलताको अनुभुती पनि हुन्छ । एक पटक पानीमा रूझ्न मन पनि पराउँछ तर लगातार पानी परिरह्यो भने सबैलाई दिक्क लाग्छ । लगातारको पानीले हानी अनि गर्छ । अश्लिल फिल्म बनाएर दर्शकको ध्यान तान्न खोज्नु भ्रम नै हो । युवाहरूको ध्यान तान्नलाई अश्लिल फिल्म नै बनाउनु पर्छ भन्ने छैन । हरेक कुराको सिमा हुन्छ र जब सिमा नाघिन्छ त्यसले आफ्नै भविश्यमाथी बन्चरो हान्छ । यस्तो भ्रममा पर्नुको मुख्य कारण नै अज्ञानता हो ।

केकीलाई अश्लिल फिल्मले ध्यानाकर्षण गरायो कि नाई ?
म पनि टिनेजर दर्शक नै हुँ । मलाई लुट र चपली हाईटले तान्यो र हलसम्म पुगें । निकै राम्रो पनि लाग्यो र ति फिल्म अश्लिल पनि लागेन । तर, त्यसलाई नै अनुसरण गरेर अझ भद्धा तरिकाले प्रस्तुत गरिएका फिल्मले मलाई आकर्षित गरेन । मलाई अफर पनि नआएका हैनन् तर मैले स्विकार्न सकिन किनकी यसले दुर्घटना निम्त्याउँछ भन्ने मलाई लागेको थियो र अहिले केहि यो दुर्घटनाको शिकार पनि हुँदैछन् । यदि यो क्रम बढ्दै गयो भने फिल्म क्षेत्रले ठूलै दुर्घटना निम्त्याउने छ ।

दुर्घटनाबाट बच्ने उपाय के-के हुनसक्छ त ?
हरेक कुराको समस्या समाधानसँगै आउँछ । जस्ले समाधान खोज्न सक्छ उ दुर्घटनाबाट बच्न सक्छ जस्ले सक्दैन उ दुर्घटनाको शिकार हुन्छ । यसका लागि सबैभन्दा पहिले क्याप्टेन सचेत हुनुपर्छ त्यसपछि त्यसमा सवार यात्रुहरू । अभिभावकको भुमिका निर्वाह गर्ने सम्बन्धित संघसंस्थाले पनि बेलाबेला सचेत गराई रहनुपर्छ । दूरदर्शी भएर काम गर्‍यो भने सफलताको गोरेटो कोरिंदै जान्छ । म त हरेक पटक सचेत हुन्छु र 'डिटेल'मा गएर विचार गरेर मात्र काम गर्छु । सायद त्यसैले होला म अहिलेसम्म 'सेफ ल्याण्डिङ' मै छु ।

त्यहि भएर हो केकीलाई अहिले सम्म औंला उठाउन नसकेको ?
मबाट गल्ती नै नभएको भन्ने हैन । मबाट असन्तुष्ट हुनेहरू पनि नहोलान् भन्न सकिन्न तर पनि म आफ्नो मर्यादामा बस्छु । मुख्य कुरा त म अनुशासित हुने प्रयासमा लागिरहेकी हुन्छु । अनुशासनले नै मानिसलाई सफलताको श्रेणीमा पुर्‍याउँछ र म सफलता चुम्ने कोशिसमा लागेकी छु । म सबैलाई आदर गर्छु अनि सबैको राम्रो होस् भन्ने चाहन्छु । म भित्र फिल्म प्रतिको प्रेम छ । यो क्षेत्रलाई म पूजा गर्छु ।

यो क्षेत्रमा पढेर नै आउनु पर्छ भनिन्छ । तपाईंलाई के लाग्छ ?
पढेका व्यक्ति अलि बढि अनुशासित हुन्छ । यो भन्दैमा नपढेका अनुशासित हुन्छन् भन्ने हैन । पढेका व्यक्तिमा सहि र गलत छुट्याउन सक्ने क्षमता बढी हुन्छ । 'एकेडेमिक क्वालिफिकेसन' मानिसको बलियो हतियार हो । त्यसले कमजोर बन्न दिन्न र 'एकेडेमिक क्वालिफिकेसन' भएका व्यक्तिको स्थान पनि छुट्टै हुन्छ । यो भन्दैमा सबै पढेका व्यक्ति अभिनयमा दक्ष हुन्छन् भन्ने चाहिं छैन । अभिनयलाई बुझ्नु र गर्न सक्नु त मुख्य कुरा नै हो । अभिनयमा मात्र हैन मेकिङमा पनि 'एकेडेमिक क्वालिफिकेसन'ले ठूलो सहयोग गर्छ ।
 
नेपाली फिल्ममा बौद्धिक महिला कलाकारको सहभागिता न्यून हुनुको कारण के हो जस्तो लाग्छ ?
मुख्य कुरा त यो क्षेत्रलाई नजिकबाट बुझ्न नसक्नु नै हो । हामी सकारात्मक भन्दा बढि नकारात्मक पाटोलाई कोट्याउन थाल्छौं जसले गर्दा राम्रो पक्ष ओझेलमा पर्छ । कहिल्लै पनि कलाको क्षेत्र गलत हुँदैन व्यक्ति गलत हुने हो र त्यहि व्यक्तिले सम्बन्धित क्षेत्रलाई गलत बनाउने हो । आफूले नजिकबाट नबुझेसम्म र अनुभव नगरेसम्म यो सम्मानित क्षेत्रलाई 'जजमेन्ट' पनि गर्न हुँदैन । एक/दुई वटा दुर्घटना भए भन्दैमा डराउनु पर्ने अवस्था छैन । यस भित्रका सकारात्मक पाटोलाई नियाल्न सक्नुपर्छ । मेरो परिवारले मलाई गरेको सपोर्ट र निर्देशक शिब रेग्मीले आफ्नू छोरीलाई गरेको सपोर्ट नै उदाहरण हुन् । आफ्ना सन्तान प्रति विश्वास गर्ने र विस्वासको वातावरण सिर्जना गरिदिने हो भने यो क्षेत्र सम्मानित छ ।



व्यक्तिगत कुरा गर्दा, तपाईं आफ्ना व्यक्तिगत कुराहरूलाई अलि बढि नै ढाकछोप गर्नुहुन्छ भनिन्छ । अझ प्रेमका बारेमा त खुल्नै चाहनुहुन्न । कारण ?
मानिसले समयानुसार र कार्यक्षेत्र अनुसार आफूलाई परिवर्तन गर्न सक्नुपर्छ । जुन दिन देखि म यो क्षेत्रमा लाग्ने निर्णय गरें त्यसदिन देखि मैले आफ्ना व्यक्तिगत कुराहरूलाई लुकाएँ । म मेरा आन्तरिक कुराहरू नआओस् नै भन्ने चाहन्छु । जबसम्म म यो क्षेत्रमा हुन्छु तबसम्म म मेरो 'पर्सनल' कुरालाई 'एक्स्पोज' गर्दिन ।

भनेपछि, तपाईं सेलिब्रेटीको नाताले आफ्ना फ्यान र दर्शकहरूलाई 'पर्सनल' कुरा जान्ने र बुझ्ने मौकाबाट बञ्चित गराउन चाहनुह्न्छ ?
हुनत कलाकारको बारेमा जान्न बुझ्न पाउनु दर्शकको अधिकार हो तर अधिकार छ भन्दैमा अर्काको अधिकार हनन गर्न पनि त भएन नि । यो इच्छालाई इच्छामा नै छोड्यो भने कलाकार र दर्शक विचको सम्बन्ध अझ सुमधुर हुन्छ । जब सबैकुरा खुल्छ अनि मलाई लाग्छ त्यो सम्बन्ध स्थायी हुँदैन । त्यसैले म मेरो व्यक्तिगत कुराहरूलाई सस्पेन्स नै राख्छु तर यो कुरा सबैमा लागु हुनुपर्छ भन्ने जरूरी पनि छैन । सबैको आ-आफ्नो विचार हो ।

अन्तमा, फिल्ममा गर्न मन लागेको 'ड्रिल' रोल केही छ ?
मेरो 'ड्रिम' रोल त धेरै नै छ । ति मध्ये मलाई हरर फिल्ममा भुत बनेर तर्साउने खालको भुमिका निर्वाह गर्न निकै मन छ । त्यस्तै धेरै चरित्र देखिने खालको र मनोबैजानिक तथा शारिरिक अशक्तको भुमिका मेरो 'ड्रिम' हो ।