फिल्म हिट भएपछि मात्रै बिहे गर्छु : सुमन सिंह

टेलिफिल्म क्याटमाण्डु र सिन्दुरका मुख्य पात्र अभिनेता सुमन सिंहको डेव्यु फिचर फिल्म दुई किनारा हो । सुमनले ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । आधा दर्जन प्रदर्शनको पर्खाइमा छन् । तर, विडम्वना उनी अभिनित एउटा फिल्मले पनि सुपरहिटको व्यापार गर्न सकेको छैन ।

फिल्म ब्याच नम्बर १६ ले सुमनलाई राम्रै चर्चा दिलायो । सुमन फिल्ममा प्रायः लभर एण्ड एक्सन रोलमा प्रस्तुत हुन्छन् । पछिल्लो पटक उनी जुवाडेको रुपमा देखिएको फिल्म ग्याम्वलरभदौ ७ गते देशभरबाट प्रदर्शनमा आउँदैछ । यही फिल्म र अभिनेता सिंहको व्यक्तिगत प्रसंगलाई लिएर फिल्मीखबरले कुराकानी गरेको छ :

ग्याम्वलर फिल्मलाई दर्शकले किन हेर्नुपर्छ ?
दर्शकले यो फिल्मबाट मनोरञ्जनसँगै सन्देश पाउनु हुनेछ । म दर्शक भएर फिल्म हेर्दा, मलाई मन पर्ने भनेको हिरोले के गर्छ ?, आमा बुवाको क्यारेक्टर के हुन्छ ? मुख्य पात्रले कस्तो कस्तो काम गरेको छ ? म यी कुराहरुलाई ध्यान दिएर हेर्छु । दर्शकले फिल्ममा यी कुरालाई पाउनु हुनेछ । अहिले फिल्म लाइनको अस्तित्व संकटमा छ । फिल्म लाइन पास्कितान होला जस्तो भैसक्यो । यो बिचमा ग्याम्वलर भन्ने फिल्म आएको छ । फिल्मको अस्तित्वलाई कायम राख्न पनि ग्याम्वलर हेर्नुपर्छ ।

तपाईका फिल्म लगातर असफल हुँदैछन्, कारण खोज्नु भएको छ ?
मेरो मात्रै असफल भन्दा पनि धेरै फिल्म अहिले असफल भैरहेका छन् । आफु अभिनित फिल्म लगातार असफल हुँदा कहिलेकाहीं गहुँको बिचमा घुन मिसिएको हो कि जस्तो लाग्छ । सुरुमा मैले नबुझेर सिरियल खेल्दा पनि सबैले वाह वाह गर्थे । फिल्ममा आए पछि त झन् तानातान हुन्थ्यो । अहिलेको फिल्मी माहोल नै त्यस्तै छ । कुनै पनि फिल्म एकदमै चल्यो भन्ने सुनेको छैन ।

सफल फिल्म दिने उपाय के देख्नुहुन्छ ?
रातपछि दिन आउँछ भने जस्तै माहोल के हुन्छ केही समय पर्खौं । अहिले देशको स्थिति पनि राम्रो छैन । फिल्म क्षेत्र राज्यको भन्दा पनि व्यक्तिको भएकाले यसबारे सोच्न कसैलाई फुर्सद छैन । जब घरको मुलीले नियम कानुन बनाउँदैन भने त्यहाँ धेरै कुराहरु बिग्रिएको हुन्छ ।

फिल्म खेल्न कम गर्नु भएको हो ?
मैले फिल्म खेल्न पूर्ण रुपमा कम गरेको छु । भर्खरै मात्र पनि एउटा फिल्मको एग्रीमेन्टलाई रोकें । केही फिल्मको स्क्रिप्ट हेर्दैछु । साईन गरेको छैन ।

किन ?
सुरुमा काम गर्दा सिनियरलाई मात्रै फलो गरियो । दुई/तीन घण्टा सुतेर फिल्म खेल्ने लाईफ पनि हेरियो । पैसा पनि राम्रै कमाएँ । यो बिचमा मैले दर्शकको नजरबाट बुझ्दा दर्शकले कलाकारलाई धेरै फिल्ममा हैन, एउटा राम्रो फिल्म हेर्रौ भनेर सोच्नु हुन्छ भन्ने मैले बुझें । घरमा बसेर चार पाँच फिल्मको प्रोमो हेर्दा म आफै दोधारमा पर्थें, कुन फिल्म कस्तो ? भनेर । त्यसकारण फिल्म खेल्न कम गरेको हुँ । तर मेरो फिल्म प्रदर्शन हुन अझै थुप्रै बाँकी छन् ।

फिल्म निर्माणमा योजना के छ ?
फिल्म निर्माण भन्दा पनि एउटा टिममा बसेर काम गर्दै छु । तर, लामो समय सम्म यही क्षेत्रमा भएको हुँदा अन्य क्षेत्रमा जाने कुरा हुँदैन । फिल्मै नचलेर पास्कितान भयो भने त विकल्प सोच्नु पर्ला । सबै कुरा मिल्यो भने म पक्कै फिल्म निर्माण गर्छु ।

जस्तो सुकै फिल्म खेलेर सुमन सिंहले बजार बिगार्यो भनिन्छ नि ?
हलिउडको कलाकारले आफ्नो पारिश्रमिक करोडौं लिन्छन् । तर केही वर्ष अघि सम्म उनीहरुको पारिश्रमिक लाखमा काउन्ट हुन्थ्यो । मैले पनि सुरुमा धेरै फिल्ममा रहरले काम गरेको हो । २ घण्टा मात्रै सुतेर काम गर्दा प्रलय नै आउँछ जस्तो लाग्यो । धेरै फिल्म खेल्दा हुने केही हैन रैछ । त्यसकारण अहिले फिल्म कम गर्दैछु ।

बिहे गर्ने उमेर भएन ?
मेरो चाहि भयो तर मसँग बिहे गर्ने मान्छे कहाँ हुनुहुन्छ ? म त्यसकै पर्खाइमा छु । बिहे गर्न अफयेर अहिलेसम्म छैन । त्यो मौका घरबाट पाइदैन पनि । म तेस्रो नम्बरमा छु । पालो उछिन्न घरको नियम कडा छ ।

बिहेको सम्भावना कहिले देख्नुहुन्छ ?
फिल्म राम्रो सँग चलेर व्यापारिक रुपमा हिट भएपछि बिहे गर्छु होला । फिल्म नचलेमा पर्दाको बिहेमा नै रमाउने । (हाँस्दै) आजभोली सबै बिहेको लगन जति फिल्मको बिहेले नै लग्यो जस्तो लाग्छ ।

तपाई अफयेरको मामालामा निकै गोप्य हुनुहुन्छ भन्ने सुनिन्छ नि !
अरुले धेरै लभ गर्न पाउँदैन भनेर अफयेरलाई गोप्य राख्छन् होला तर मेरो चाहि त्यस्तो छैन । सुरुमा मैले जुन सफलता पाएँ अहिले त्यसको दोब्बर हुनु पर्ने हो । तर त्यसो नभएको हुनाले म आफैं अन्योलमा छु । त्यही भएर लभको बारेमा सोच्न पाएको छैन ।