शिक्षिकाको कुटाईबाट दृष्टि गुमाएका विद्यार्थीको तिलगंगामा शल्यक्रिया दृष्टि फर्किने–नफर्किनेमा अझै अन्योलः

काठमाडौं, असार २१ । शिक्षिकाको कुटाईबाट आँखाको दृष्टि गुमाउन पुगेका नेपालगञ्जका विद्यार्थी अजय धोबीको आज काठमाडौंस्थित तिलगंगा आँखा केन्द्रमा उपचार गरिएको छ । आँखाको नानीमा घाउ लागेका उनको नेपालगन्जको आँखा अस्पतालमा शल्यक्रिया गरिएपनि निको नभएपछि थप उपचारका लागि तिलगंगा आँखा अस्पतालमा ल्याइएको हो ।



तिलगंगामा अजयको आँखाभित्र जमेको पीप निकालेर घाउ सिलाइएको जनाइएको छ । यद्यपी उनको आँखाको दृष्टि फर्किने–नफर्किने निक्र्यौल हुन केही दिन पर्खनुपर्ने उपचारमा सहभागी चिकित्सकहरुले बताएका छन् ।

दुई वर्षसम्म सरकारी विद्यालयमा पढ्दा प्रगति नगरेको भन्दै अजयको परिवारले उनलाई दुई महिना अघि नेपालगञ्जको भेरीजोन इन्टरनेशनल बोर्डिङमा नर्सरीमा भर्ना गरेका थिए । केही दिन अघि होमवर्क नगरेको निहुँमा शिक्षिका आराधना रानाले किताबले हिर्काउँदा अजयको आँखामा लागेको थियो ।

नेपालगन्ज आँखा अस्पतालमा उपचारका लागि पु-याएपछि मात्रै छोराको आँखाको दृष्टि गुमेको थाहा पाएको अजयका बुवाले हामीलाई बताए । अजयलाई पिट्न शिक्षिका आराधना रानालाई भने प्रहरीले पक्राउ गरेको छ ।